• बुधबार ३१, असोज २०७५

धाइरिङकाे कृष्ण भवन माविकाे भवन उद्घाटन गर्दै सांसद पदम गिरीले भने – ‘राज्यले शिक्षामा लगानी नगर्दा प्रतिफल अाउन सकेन’

पर्वत । भुकम्पले भवन भत्काएपछि अध्यापनमा समस्या पर्दै आएको जलजला गाउँपालिका ७ धाइरिङ स्थित कृष्ण भवन धर्म माध्यमिक विद्यालयमा ४ कोठे भवनको पुर्ननिर्माण गरिएको छ । भुकम्पले भवन भत्काएपछि अध्यापनमा समस्या पर्दै आएको उक्त विद्यालयमा विभिन्न कार्यालयहरुको सहयोगमा भवनको पुर्ननिर्माण गरिएको हो ।

पुर्ननिर्माण गरिएको उक्त भवनको एक कार्यक्रमका वीच प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले उद्घाटन गरेका छन । भवन भत्किएपछि खूल्ला आकाश मुनी अध्यापन गराउन पर्ने बाध्यतामा रहेको विद्यालयले जिल्ला विकास समितिको १५ लाख र जिल्ला शिक्षा कार्यालयको २१ लाखको सहयोगमा भवनको पुर्ननिर्माण गरेको हो ।

कुल ६४ लाखमा निर्माण कार्य सम्पन्न भएको उक्त भवनको लागि बाँकी रकम भने आन्तरीक श्रोतबाट ब्यवस्थापन गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपक आचार्यले जानकारी दिए । आचार्यका अनुसार भुकम्पले विद्यालयका ८ वटा कक्षा कोठा पूर्ण रुपमा भत्किएका थिए ।

भवन भत्किएपछि अध्यापनमा समस्या पर्दै आएको अध्यक्ष आचार्यको भनाई छ । ४ कोठाको पक्कि आरसिसि भवन निर्माण गरिएपछि अध्यापनमा केहि सहज भएको उनले बताए । कक्षा ११ र १२ को समेत कक्षा सञ्चालन हुँदै आएको विद्यालयमा अझै कक्षा कोठाको भने अभाव रहेको उनले बताए ।

कार्यक्रममा उपस्थित प्रतिनिधि सभा सदस्य गिरीले भवनको उद्घाटन गर्दै गुणस्तरीय शिक्षा प्रदानका लागि भौतिक अवस्था पनि मजबुद हुनुपर्ने धाराणा राखे । गिरीले केन्द्रिय सरकारले भौतिक पूर्वाधार निर्माणका ठूला योजनाहरुमा सहयोग गर्ने भएपनि विद्यालय जस्तो संवेदनशिल क्षेत्रमा पनि केन्द्रिय सरकारले ठूला पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्ने धारणा राखे ।

उनले बिद्यालयको भौतिक अवस्था सुधारका लागि ३ वटै तहका सरकारहरु गम्भिर हुनुपर्ने बताए । विद्यालयमा अपुग भवन निर्माणका लागि श्रोतको खोजी गरी निर्माण कार्यलाई अगाडि बढाउने योजना रहेको अध्यक्ष आचार्य बताउँछन । विद्यालयको ५७ औं बार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेल, जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, धाइरिङका वडा अध्यक्ष टुंगनाथ शर्मा लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष दिपक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिवेदन प्रअ इन्द्रप्रसाद आचार्यले प्रस्तुत गरेक थिए भने सञ्चालन शिक्षक मुक्ति पौडेलले गरेका थिए । सो अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण, शिक्षक सम्मान तथा बार्षिकोत्सव कार्यक्रमको समापन समेत गरिएको थियो ।

Loading...
Related Posts
Don't miss it
Editors choice