• बिहीबार २९, कार्तिक २०७५

१ जनाको ज्यान गएपछि कञ्चनपुर प्रहरी प्रमुखले खोले गोली बर्साउनुको रहस्य…….

काठमाडौं ।

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले कञ्चनपुरमा प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको बताएका छन्। शुक्रबार साँझ आक्रोशित भिडले अचानक एकसाथ ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रशासन, ट्राफिक प्रहरीको सवारी साधन, टिकट काउन्टरमा तोडफोड सुरु गरेपछि दुःखद् घटना भएको उनको दावी छ।

तर स्थानीयले भने आफूहरु संयमित हुँदाहुँदै समेत आन्दोलनलाई दबाउनका लागि बालकको नियोजितरुपमा हत्या गरेको आरोप लगाएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा केही सेल अश्रुग्यास प्रहार गरेको थियो। तर, आक्रोशित भिड प्रहरीमाथि जाइलागेपछि हवाई फायर गर्नुपरेको उनको भनाइ छ।

‘आकस्मिक रुपमा स्थिति प्रहरी नियन्त्रणभन्दा बाहिर गएपछि हवाई फायर भएको हो’, कञ्चनपुर घटनाप्रति दुःख व्यक्त गर्दै प्रवक्ता थापाले भने, ‘प्रहरीले आत्मरक्षाका लागि हवाई फायर गर्दा एक किशोरको ज्यान गएको हो।’

शुक्रबार साँझको प्रदर्शन हिंसात्मक बनेपछि कञ्चनपुरमा साँझ ८ बजेबाट फेरि अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ। महेन्द्रनगर बजार आसपासका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको हो।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि कञ्चनपुरमा चार दिनयता तनाव बढेको हो। शुक्रबार साँझ भएको झडपमा प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका-१८ भगतपुर बस्ने १७ वर्षीय सन्नी खुनारको मृत्यु भएको छ।

झडपमा अन्य २४ जना घाइते छन्। प्रहरीको गोली लागेर घाइते भएका सातजनालाई महाकाली अञ्चल अस्पतालले उपचारका लागि विभिन्न अस्पतालमा रिफर गरेको छ। अन्य घाइतेको भने स्थानीय अस्पतालमा उपचार भइराखेको छ।

यता सरकारले १३ वर्षीया बालिका निर्मला पन्तको हत्यालाई लिएर भइरहेको आन्दोलन स्थगित गर्न कञ्चनपुरबासीलाई आहृवान गर्दै आन्दोलनमा घुसपैठ भएको दाबी गरेको छ।

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमन्त्री गोकुल बास्कोटाले सीडीओ र सुरक्षा अधिकारीको सुरुवा गर्नुका साथै अनुसन्धान समिति समेत बनाइसकेको अवस्थामा परिस्थितिलाई थप उत्तेजित बनाउन विभिन्न तत्वले घुसपैठ भएको बताएका हुन् ।

मानवीय संवेदनासँग जोडिएको घटनालाई लिएर परिस्थिति थप उत्तेजित बनाउने घुसपैठ गर्नेहरुबारे अनुसन्न्धान गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको उनले बताए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले जघन्य अपराधका यस्ता सरकार गम्भीर रहेको भन्दै दोषीहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘परिस्थितिलाई अरु ढंगले उत्तेजक नबनाउन गरेको अनुरोध गर्छौं ।’

Loading...
Related Posts
Don't miss it
Editors choice