• शनिबार १२, जेठ २०७५

कसले बनायो पार्टी एकता नै बिथोलिन सक्ने विवादित ब्यानर ?

काठमाडौं । लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन एमाले र माओवादीका सबै नेता कार्यकर्ता तरङ्गित भए, त्यसको एउटै कारण थियो ब्यानर विवाद ।

शनिबार एमाले र माओवादीका शीर्ष नेताहरु छलफलमा जुटे । त्यहाँ तयारी भयो भोलि (आइतबार) संयुक्त कार्यक्रम गर्ने । तर, त्यतिञ्जेलसम्म एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले एमालेको लेटरप्याडमा पार्टी एकता संयोजन समितिको नाममा पत्र पठाइएको थियो । आइतबार दिउँसो ब्यानर विवाद भएपछि ब्यानर कसले बनायो भन्ने जिज्ञासा उब्जिएको छ ।

माओवादी स्रोतका अनुसार शनिबार दिउँसो एमाले र माओवादीबीच संयुक्त कार्यक्रम गर्ने सहमति थियो । ब्यानर बनाउने जिम्मा एमाले र माओवादीका कार्यालय सचिवहरुलाई दिइयो । ब्यानरको जिम्मा दिइयो एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलाई । उनले ब्यानर बनाए ।

माओवादीका अनुसार ब्यानरमा राखिएका पुष्पलाल, मनमोहन र मदन भण्डारीको फोटोप्रति आपत्ति होइन । तर, एमालेको ब्यानर हुबहु राखेर कार्यक्रम गर्दा माओवादीको आत्मस्वाभिमानमा चोट पुगेको अनुभूति भयो । एमालेले माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओको फोटो नहुनु र एमालेले मान्दै आएका नेताहरुको फोटो रहनु र माओवादी केन्द्रलाई माके लेखेर अपमान गरेको माओवादी आरोप छ ।

लेनिन जयन्तीमा लेनिनको फोटो नभएको र एमालेको ब्यानर राखिएको भन्दै वाइसिएलले कार्यक्रममा आपत्ति जनाएको थियो । वाइसिएलको आपत्तिपछि दुई वटा ब्यानरमा संयुक्त कार्यक्रम गरिएको थियो ।

कसले बनायो विवादस्पद ब्यानर ? यो प्रश्न हामीले एमाले नेता तथा कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलाई सोध्यौं । श्रेष्ठले भने, ‘सहमतिअनुसार नै ब्यानर हामीले बनाएका हौं, त्यसमा विवाद गर्नुपर्ने कुरा केही थिएन । वाइसिएलले विवाद गर्नु राम्रो थिएन, हामी संयमित भयौं र कार्यक्रम सफल भयो ।’

ब्यानरको विवाद ठूलो नभए पनि दुखद भएको श्रेष्ठले बताए । उनले भने, ‘यो ठूलो कुरा होइन, ब्यानरमा माओवादी केन्द्रको नाम थियो, प्रचण्डको फोटो थियो । हामीले यसैकारण विवाद नआओस् भनेर ब्यानर हटायौं, त्यो सेफल्याण्डिङ पनि थियो । कार्यक्रम सफल भयो, यही नै ठूलो कुरा हो ।’ ujyalonepal

Loading...
Related Posts
Don't miss it
Editors choice