• बिहीबार ०४, असोज २०७५

पर्वतका पुराना कम्युनिष्ट नेताले गरे यस्तो उदाहरणीय काम

पर्वत, बैशाख २ गते ।

जन्म दिनमा गरिने खर्चलाई कटाएर यहाँका एक बृद्धले विद्यालयमा अक्षयकोषको स्थापना गर्नुभएको छ । राजनीतिज्ञ तथा समाजसेवी तोयनाथ चालिसेले आफ्नो जन्मदिनको अवसरमा स्थानीय शिवालय माध्यामिक विद्यालयमा १ लाख ५० हजारको अक्षयकोषको स्थापना गर्नुभएको हो ।

विद्यालयका संस्थापक समेत रहेका चालिसे, उहाँकी धर्मपत्नी भिम कुमारी चालिसे र छोरी ईन्दु चालिसे गौतमले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।

२०४० सालमा विद्यालय व्यवस्थापन समितिको संस्थापक बन्नुभएका चालिसेले विद्यालयका अन्य गतिबिधीमा समेत सहयोग गर्दै आउनुभएको छ । उहाँले आफ्नो जन्मदिनको अवसरमा पहिलो पटक विद्यालयलाई सहयोग गर्नुभएको हो । आफ्नो ७७ औं जन्मदिनको अवसरमा उक्त सहयोग गरेको र आगामी दिनमा समेत कोषमा रकम थप गर्दै लैजाने बताउनुभयो ।

१९९८ सालमा कुस्मा बजारमा जन्मिनुभएका चालिसे पर्वतको राजनीतिक तथा समाजिक विकासमा लामो समयदेखि क्रियाशिल रहँदै आउनुभएको छ । तोयनाथ, भिमकुमारी चालिसे अक्षय कोषबाट प्राप्त हुने ब्याज रकमले विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री लगायत सहयोग प्रदान गरिने संस्थापक चालिसेले बताउनुभयो । उहाँले आर्थिक कारणले विद्यालयमा पुगेर शिक्षा लिन नसक्ने बालबालिकालाई यो कोषबाट सहयोग गरिने बताउनुभयो । कोषमा प्रत्येक वर्ष थप गर्दै लगिने समेत बताउनुभयो ।

विद्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले विद्यालयमा गरिएको यस्तो कोषले विपन्न बालबालिकाको शिक्षामा सहयोग पुग्ने बताउँदै आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्नुभयो ।
तस्बिर ः विद्यालयमा सहयोग हस्तान्तरण गर्दै तोयनाथ चालिसे र उहाँको परिवार । तस्बिरः गणेश पौडेल, गोरखापत्र

Loading...
Related Posts
Don't miss it
Editors choice