• बुधबार ०३, असोज २०७५

ओलीले गर्न लागे नेपालमा नयाँ अभ्यास, भट्टराईले पाए यस्ताे कमाण्ड ?

काठमाडौ । नेपालको स्थिर परराष्ट्र नीति नभएको सन्दर्भमा केपी शर्मा ओलीले नयाँ अभ्यासको तयारी गरेका छन् ।

परराष्ट्र, विकासमा सहयोग पुग्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूको स्वतन्त्र समुह (थिङ्क ट्यांक) गठनको तयारी गरेका छन् । नेपालको भूराजनीतिलाई समेत ध्यानमा राख्दै निर्माण हुने भनिएको उक्त समूह प्रधानमन्त्री कार्यालय मातहत हुने र त्यसले प्रधानमन्त्रीलाई नीतिगत विषयमा सुझाव दिनेछ ।

एमालेका युवा नेता एवं परराष्ट्रविज्ञ राजन भट्टराईलाई विज्ञ संयन्त्र गठनको गृहकार्य अघि बढाउन परिचालन गरिएको छ । संसदबाट नै कानून पारित गराएर दीर्घकालीन रूपमा प्रधानमन्त्री कार्यालयमा त्यस्तो स्वतन्त्र विज्ञ समूह गठन गर्ने ओलीको तयारी रहेको स्रोतले दैनिक नेपाललाई जानकारी दियो ।

प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व सम्हालेपछि स्वतन्त्र विज्ञ समूह राखेर सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने बताउँदै आएका थिए । उनले कानून, अर्थ, सुरक्षा, कुटनीति, विकास योजना, शिक्षा लगायतका क्षेत्रमा लामो अनुभव बटुलेका केही विज्ञ र अगुवासँग विहीबारै छलफल गरेको बीबीसी नेपालीले उल्लेख गरेको छ । सरकारको अंगको रूपमा नभई स्वतन्त्र ढंगले उक्त समूहले कार्यसम्पादन गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

उनले भने, ‘हामीले अवलम्बन गर्नुपर्ने विकास, वातावरण, शिक्षा, स्वास्थ्य नीतिहरू, बदलिँदो अन्तराष्ट्रिय सन्दर्भमा हाम्रो पहलकदमी कस्तो हुनुपर्छ भन्ने विषयमा उसले हामीलाई सहयोग गर्छ । विज्ञ समूह चाहिने भएको हुनाले सकेसम्म छिट्टै गठन गर्छौं ।’

छलफलमा सहभागी विज्ञहरूले विज्ञ समूह निर्माणका लागि प्रधानमन्त्रीले देखाएको तत्परताको प्रशंसा गरेका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पीताम्बर शर्माका अनुसार नेपालमा अनुसन्धानमा आधारित भएर नीतिनिर्माण गर्ने खासै अभ्यास छैन । अहिलेको सरकारले थिङ्क ट्यांक आवश्यक रहेको देख्नु सकारात्मक रहेको उनले बताए ।

Loading...
Related Posts
Don't miss it
Editors choice