• बुधबार ०३, असोज २०७५

यस्ता छन् केपी ओलीका ६ चुनौती :

दिवस गुरागाईं/काठमाडौं । पहिलो पटक ९ महिना प्रधानमन्त्री हुँदा केपी ओलीले विकास निर्माणका धेरै सपना देखाएका थिए । सपना देखाउँदा देखाउँदै उनी विदा भए । र, चुनाव भयो । चुनावमा जनताले उनका सपनालाई अनुमोदन गरिदिए । यसैको बलमा उनी फेरि सत्ता सम्हाल्न आइपुगेका छन् । तर, उनलाई सजिलो भने छैन ।

चुनौतीका चाँङ माथि छन् प्रधानमन्त्री ओली । भनिन्छ, उनलाई प्रशस्त अवसरहरु पनि छन् देश बनाउने सवालमा । जति चुनौतीहरु छन्, त्यति नै उनलाई अवसर पनि छन् । एकथरी विश्लेषकहरु भन्छन् – ‘ओलीलाई अमर हुने अवसर छ ।’

गणतन्त्र र संघीयता स्थापित गरेर ब्यवस्थालाई दह्रो बनाउने जिम्मा पनि उनकै काँधमा आइपरेको छ । एउटा कोणबाट गणतन्त्र र संघीयतामा उनलाई शंका गर्नेहरुको आवाज आईनै रहेको छ । यो विषयमा उनले समयमा नै शंकाको निवारण गरेर देखाउनु सक्नुपर्छ ।

यस्ता छन् ओलीका चुनौती:

१. आवश्यक एक सयभन्दा बढी कानून बनाएर गणतन्त्र र संघीयता स्थापित गर्नेः
केपी ओलीले यस्तो वेलामा सत्ताको बागडोर सम्हालेका छन्, जतिवेला उनको काँधमा नयाँ ब्यवस्थालाई स्थापित गर्ने अभिभारा छ । दर्जनौं कानुनहरु बनाउनु छ । स्थानीय निकाय, प्रदेश र केन्द्रको समन्वय मिलाएर पद्धतिको विकास गर्नु चानचुन काम होइन । संघीयताको उपदेयता स्थापित हुन सकेन भने मुलुक फेरि भड्खालोमा पर्नेछ । त्यसकारण उनले सबैभन्दा प्राथमिकतामा राख्नुपर्ने विषय यही नै हो ।

२. सन्तुलित विदेश नीति स्थापित गर्नेः
ओली यसअघि ९ महिना प्रधानमन्त्री भएर विदा हुँदैगर्दा उनलाई एउटा आरोप लाग्यो, भारत विरोधी र चीनको पक्षधर । यस कुराले उनी रातारात राष्ट्रबादी पनि कहलिए । किनभने भारतको विरोध गर्दा राष्ट्रबादी हुने परम्परा छ, नेपालमा । तर, प्रधानमन्त्री ओलीलाई पनि थाहा भएको सत्य के हो भने यी दुई छिमेकीसँगको सम्बन्धलाई सन्तुलित नगरि अघि बढ्न सकिदैंन् । वास्तवमा नै कसैको विरोध र समर्थनभन्दा माथि उठेर सन्तुलित विदेशनीति नै आजको आवश्यकता हो भन्ने कुरामा कसैको दुई मत रहन्न । के ओलीले यसो गर्न सक्लान् ? ओली सरकारको प्रमुख चुनौतीहरुमा यो पनि पर्छ ।

३. आफैंले वाचा गरेका विकास निर्माणका काम पुरा गर्नेः
पहिलो पटक ९ महिना प्रधानमन्त्री भएकावेला केपी ओलीले धेरै सपना बाँडेका छन्, देश र जनतालाई । ती सपना उनी पदविहीन भएपछि ब्यवारिसे भएका थिए । फेरि उनी प्रधानमन्त्री भए लगत्तै सपना ‘रिन्यू’ भएका छन्, जनताको मन मस्तिष्कमा ।

के सक्लान् उनले घर–घरमा ग्यासको पाइप ओछ्याउन ? चिनियाँ रेल नेपाल ल्याउन कति सम्भव होला ? अनि पानीजहाज ? यी तमाम सपनाहरुका सम्बन्धमा ओलीले दोस्रो पटक प्रधानमन्त्री भएपछि उच्चारण गरेका छैनन् । तर, जनताका अगाडि उभिएर उनले पहिला बोलेका तमाम विषयहरुलाई ब्यवहारमा उतार्ने संकल्प गर्नैपर्छ ।

४. बेरोजगार समस्या समाधान गर्नेः
नेपालको मुल समस्या ‘युवा बेरोजगारी’ पनि हो । यहाँ कलेज र स्कूलहरु बेरोजगार उत्पादन गर्ने कारखाना जस्तै भएका छन् । स्वदेशमा काम नपाएकाले युवाहरु विदेशिन बाध्य छन् । युवाहरु विदेशिएको हुनाले नै स्वदेशमा सवैखाले उत्पादन न्यून भएका छन् । कृषि प्रधान देश भनिएपनि वर्षेनी अर्बौ रुपैयाँको खाद्य सामाग्री आयात गर्न बाध्य छ, देश । कलकारखानाहरु नयाँ खुल्नु त कता हो कता, पुराना उद्योगहरु नै बन्द भएर बसेका छन् । ओली सरकारको ठूलो चुनौती यो पनि हो ।

५. भ्रष्टाचार न्यून गर्दै सुशासन कायम राख्नेः
प्रधानमन्त्री केपी ओलीले केही दिन यता भ्रष्टाचार विरोधी मन्तब्य ब्यक्त गर्न थालेका छन् । उनको निश्कर्ष छ, ‘म पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि दिन्न ।’ यो भनाई ताली योग्य छ । तर, के ब्यवहारमा त्यस्तो प्रदर्शन गर्न सक्लान् उनले ? यो ठूलो चुनौती हो, ओली सरकारको । भ्रष्टाचार नै सुशासनको जग भएकाले ओली सरकारको परीक्षा यस ठाउँमा हुनेछ ।

६. समृद्ध देश निर्माण गर्नेः
गणतन्त्र र संघीयता स्थापित गर्ने, विदेशनीति सन्तुलित बनाउने, आफैंले बाचा गरेका विकास निर्माणका काम पुरा गर्ने, बेरोजगार समस्या समाधान गर्ने, भ्रष्टाचार न्यून गर्ने र सुशासन कायम गर्ने लगायतका चुनौती पूर्ण कामले नै देश समृद्ध बनाउँछ । ओली सरकारले यी काममा आफूलाई कसरी ‘फोकस’ गर्छ र परिणाम दिन्छ भन्ने कुराले नै देश समृद्ध बन्छ कि बन्दैन भन्ने कुराको जवाफ दिन्छ । यसका लागी ५ बर्ष होइन, केही महिना भित्र नै उनले संकेत दिइसक्नु पर्नेछ । समृद्ध देशकालागी खाँका चाहिन्छ, जो उनले चाँडै सार्वजनिक गर्न सक्नुपर्छ ।

केन्द्रबिन्दुबाट

Loading...
Related Posts
Don't miss it
Editors choice