• शनिबार ०८, बैशाख २०७५

शपथ ग्रहण समारोहमा देखिएका ७ रोचक दृश्य, देउवालाई ओलीको स्वागत देखि कूर्सी ‘कू’ सम्म !…

काठमाडौं – संघीय संसदका सदस्यहरुले आइतवार शपथ लिएका छन् । संसद भवन नयाँबानेश्वरमा आयोजित विशेष समारोहबीच सांसदहरुले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । अपराह्न साढे ४ बजे प्रतिनिधि सभा र ५ बजे राष्ट्रिय सभाका सदस्यहरुले शपथ लिएका हुन् ।

शपथसंगै सांसदहरुले सांसदको प्रतिक चिह्न लोगो उपहार पाएका छन् । शपथ समारोहमा केही रोचक दृष्य देखिए ।

देउवालाई ओलीको स्वागत

दिउँसो ४ बजेका लागि भनिए पनि शपथ समारोह साढे ४ बजेमात्र शुरु भएको थियो । शथप शुरु हुनुभन्दा ५ मिनेट अगाडि मात्र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली प्रतिनिधिसभाको बैठक कक्षमा आइइपुगे । शपथका लागि जनाउ घण्टी बजाए पछि मात्र कांग्रेस सभापति शेरबहादुर देउवा बैठक कक्षमा उपस्थित भए ।

देउवालाई ओलीले आफू बसेको कुर्सीबाट उभिएर हात मिलाएर स्वागत गरे । सभाखुमको कार्यकक्षको देब्रे रोको पश्चिमतर्फको सीटमा बसेका देउवा र सरकार पक्षको रोको पूर्वपट्टि बसेका ओली आमने सामने थिए । प्रधानमन्त्री ओलीको शपथ ग्रहणका क्रममा राष्ट्रपति कार्यालय सीतलद निवासमा हातमिलाउँदा यी दुइ नेताले एकले अर्कोलाई हेरेको दृष्य चर्चामा रहेको थियो ।

ओलीलाई मातृकाले देखाए प्रधानमन्त्रीको कुर्सी 

शपथ शुरु हुनु पूर्व मन्त्रीहरु बस्ने सरकारी पक्षको रोको अघिल्लो सीटमा बसेका थिए, माओवादी सांसद एवं उद्योग मन्त्री मातृका यादव । प्रधानमन्त्री केपी ओली बैठक कक्षमा उपस्थित भएपछि ओली एमालेका नेताहरु बसेका रोतर्फ जाँदैथिए । चार पाइला अगाडि बढेका ओली मात्रिकाले प्रधानमन्त्रीको कुर्सी देखाएपछि फर्केर आफ्नो सीटमा बसे । रक्षामन्त्री इश्वर पोखरलेलाई पनि मात्रिकाले नै हातले इसारा गरेर सीट देखाए ।

अघिल्लो बेन्चको पहिलो रो मा ओली, पोखरेल र यादव थिए भने, मन्त्रीको दोस्रो रो मा लालबाबु पण्डित र थममायाा थापा थिए । गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभामा शथप लिन गए भने अर्थमन्त्री युवराज खतिवडा संसद परिसरमा देखिएनन् । राष्ट्रिय सभामा मनोनित उनको शपथमा सर्वोच्च अदालतले तत्कालका लागि रोक लगाएको छ

अघिल्लो सीट नपाएपछि राजपा जिल्ल 
प्रतिपक्षी वेन्चको अघिल्लो सीट कांग्रेस र संघीय समाजवादी फोरमले ओगटपछि राजपाका नेताहरु एकछिन सभामुखको कार्यकक्ष अगाडीको वेलमा उभिइरहे । सभामुखको दायाँ तर्फको रोमा माओवादी बसेको थियो, त्यसपछि नेकपा एमालेका लागि व्यबस्था गरिएको थियो । विपक्षी रो को पहिलो लाइनमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशांक कोइराला र प्रकाशमान सिंह तथा फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ बसेका थिए ।

फोरमको पछाडि नबस्ने भन्दै राजपाका नेताहरु राजेन्द्र महतो, महेन्द्र यादव, अनिल झा र राजकिशोर यादव लगायतका सांसदहरु केहीबेर अगाडि उभिइरहे । शपथको जनाउ घण्टी बज्नु अघिमात्र उनीहरु आफ्नो कुर्सीमा गए । संविधानसभा बैठकको समयमा प्रयोग भएका छेउका दुइवटा रो भने खाली गरिएको थियो ।

कांग्रेस कोषाध्यक्षको कुर्सी ‘कू’

शथप शुरु हुनु अगावै कांग्रेस कोषाध्यक्ष समेत रहेकी सांसद सीतादेवी यादव सभापति शेरबहादुर देउवाको पछाडिको कुर्सीमा बसेकी थिइन् । उनी उठेको मौका पारी रौटहटबाट निर्वाचित सांसद मो. अफ्ताव आलमले सीतादेवी बसेको कुर्सी ओगटे ।

आफ्नो कुर्सी ओगटीएको देखेपछि सीतादेवी पछाडिको सीटमा गएर बसिन् । विपक्षी बेञ्चको दोस्रो रोमा कांग्रेसकी सुजाता कोइराला लगायतका नेताहरु बसेका थिए ।

सेल्फी खिच्न भ्याइ नभ्याइ

प्रमुख तीन दलका नेतामध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुरुमा संसदको बैठकमा आएका थिए । ४ बजे नै बैठक कक्षमा उपस्थित प्रचण्डसंग फोटो खिच्न माओवादी र अन्य दलका सांसदहरुको तछाड मछाड थियो । कांग्रेस नेता महेश आचार्यलाई हराएका अमनलाल मोदीले अगाडी गएर फोटा खिचेका थिए ।

माओवादीको बेञ्चको अघिल्लो रोमा प्रचण्ड, कृष्णबहादुर महरा, राम कार्की र ओनसरी घर्ती बसेका थिए । मौलिक परंपरागत पोषाकमा देखिएकी घर्तीसंग फोटो खिच्न सांसदहरुको भीड लाग्यो । पम्फा भुसाल, ओनसरी र जयपुरीले संसद परिसरमा फोटो खिचाए । तीन नेतृमध्ये एकजना सभामुख बन्ने होला नि ? भन्ने प्रश्नमा भुसालले भनिन्, ‘पुरानैलाई दोहोर्याउने हो ।’

सिलवालसँग फोटो खिच्न बर्षमानको आग्रह

शपथ ग्रहण कार्यक्रम सकिएलगत्तै सांसदहरु चियापानमा सहभागि भए । सांसदहरुका लागि संसद भवनको पूर्वपट्टिको भेगमा चियापानको व्यबस्था थियो ।

चियापान समारोहमा सांसदहरुबीच फोटो र सेल्फी खिच्ने प्रतिष्पर्धा नै थियो । प्रहरीको ‘खोजी’मा रहेका नेकपा एमालेका सांसद नवराज सिलवालसँग जम्काभेट भएपछि माओवादी केन्द्रका बर्षमान पुनले फोटो खिच्न आग्रह गरे । ‘उहाँले हिजो ट्वीट गर्नु भएको थियो क्यारे, लौ एउटा फोटो खिचौं,’ बर्षमानले भने । सिलवाल विजयी भएको ललितपुर १ बाट २०६४ सालको संविधानसभा चुनावमा बर्षमान विजयी भएका थिए ।

कोही हाकुपटासीमा कोही टाइ सुटमा !

नेकपा एमाले र नेपाली कांग्रेसका अधिकाशं सांसद नेपाली मौलिक पोसाक दौरा सुरुवालमा उपस्थित भएका थिए । माओवादीका सांसदहरु भने कोही टाइ सुटमा कोही मधेशी पहिरनमा थिए । संघीय समाजवादी फोरमका सांसद मौलिक पोसाकमा थिए । काठमाडौंका राजेन्द्र श्रेष्ठ मौलिक नेवारी पोसाक हाकु पटासीमा थिए ।

कांग्रेस नेता डा रामशरण महतलाई पराजित गरेका हितबहादुर तामाङ, राष्ट्रियसभा सदस्यमा निर्वाचित अखिलकी अध्यक्ष नवीना लामा तामाङ पोशाकमा थिए । एमालेकी शान्ता चौधरी, गंगा चौधरी लगायत थारु सांसदहरु पनि मौलिक पोसाकमा देखिए । राष्ट्रिय सभाकी सांसद एवं गायिका कामल वली सांसदहरुबीच पनि ‘सेलीब्रेटी’ जस्तै थिइन् ।

Loading...
Related Posts
Don't miss it
Editors choice