• सोमबार ११, असार २०७५

मन्त्री लालबाबुको निशानामा कर्मचारीदेखि ईट्टाभट्टासम्म……

भक्तपुर– जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने अब जो कोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।

भक्तपुर मध्यपुरथिमि नगरपालिका– ३ कौशल्टार र सूर्यविनायक नगरपालिका–२ बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला सरसफाइ अभियानको आज उद्घाटन गर्दै उनले वातावरण प्रदूषण गर्नेलाई कारबाही गर्ने दृढता व्यक्त गरे।

मन्त्री पण्डितले आगामी बैसाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी साधनलाई प्रतिबन्ध लगाउने बताउँदै भने, ‘बैसाख १ देखि हरियो स्टिकर नभएका सवारीसाधन चल्न दिइनेछैन। ४५ प्रतिशत हरियो स्टिकर भएका साधनले कालो धुवाँ फालिरहेका छन्, अब त्यस्तालाई कारबाही हुन्छ।’

कालो धुवाँ फाल्ने सवारी साधनलाई मात्र होइन, त्यस्ता सवारी साधनलाई हरियो स्टिकर दिएर पास गर्ने कर्मचारीलाई समेत कारबाही गरिने उनको भनाइ छ। ‘नकुहिने प्लास्टिक उत्पादन गर्ने कम्पनीलाई अब प्रतिबन्ध लगाउने र त्यसको विकल्पमा अर्गानिक झोलालाई प्राथमिकता दिइनेछ,’ उनले भने।

मन्त्री पण्डितले वातावरणको ख्याल नगरी कानून मिच्दै सञ्चालनमा आएका इँटा भट्टालाई वातावरणमैत्री बनाउने उल्लेख गर्दै गलत ढंगले सञ्चालनमा आएका भट्टालाई कारबाहीको दायरमा ल्याउने तयारी गरेको पनि जानकारी दिए।

फोहोर र प्रदूषणका कारण क्यान्सरजन्य रोग बढ्दै गएको बताउँदै उनले अबको एक वर्षमा काठमाडौँमा माक्स लगाएर हिँड्नु नपर्ने गरी वातावरण स्वच्छ बनाउने प्रतिबद्धता दोहोर्‍याए।

मन्त्री पण्डितले वातवरण प्रदूषण गर्न लागिपरेका केही ठूला होटल उद्योगलाई कारबाही गरिरहेको र अन्यलाई समेत कारबाही गरिने बताए।

आजबाट सुरु भएको हनुमन्ते सरसफाइ अभियान अब हरेक साता शनिबार सञ्चालन हुने भएको छ। आजको सरसफाइमा १० ट्रक फोहोर संकलन त्यसको व्यवस्थापन गरिएको छ।

Loading...
Related Posts
Don't miss it
Editors choice