• बिहीबार ०३, साउन २०७५

एमाले माओवादीका चार गुट चारतिर : यस्तो छ ओली – प्रचण्डलाई गुटको चुनौती

काठमाडौं ।

नेपालका कम्युनिष्टहरुको इतिहासले भन्छ– गुट नै सर्वाेपरी हो । गुट नै पार्टी हो र जे गर्ने हो गुटकै लागि गर्ने हो । एमाले र माओवादी एकीकरणमा जाँदैछन्, एकीकृत पार्टीमा गुटको बिकास र भूमिका के होला ? यो बुझ्न यी दुई पार्टीभित्रको गुटको इतिहास हेर्नुपर्ने हुन्छ ।

सीपी मैनालीको माले पार्टीले कहिँ कतै एक सीट पनि जितेन चुनावमा । यी उनै नेता हुन् जो कुनैबेला हालको एमाले तथा तत्कालीन मालेका महासचिव थिए । पञ्चायतकालमा भूमिगत अवस्थामा रहँदा पार्टी स्वतन्त्रता कि राजनीतिक स्वतन्त्रता भन्ने विवादमा मैनाली अल्पमतमा परे । मैनाली सत्ताच्युत गरिए । पार्टीमा मदन भण्डारीको गुट हावी भयो ।

बहुदल आएपछि मदनको गुटले मैनालीलाई पेल्नसम्म पेल्यो । मैनालीलाई पार्टीबाटै लखेट्न प्रयास गरियो । मैनाली गुटकाहरुलाई पार्टीभित्र दोस्रो होइन तेस्रो दर्जाको व्यवहार गरिन्थ्यो ।

बहुदल आउनासाथ मालेले नेकपा माक्र्सवादीसँग एकीकरण गर्यो । एकीकरणबाट मनमोहन अधिकारीलाई अध्यक्ष बनाइयो तर मनमोहन समूहबाट आएका अरुलाई भने लखेटियो । केशरमणी पोखरेलले पार्टी छाडे, बलराम उपाध्यायलाई पनि पार्टीमा बस्न नसक्ने बनाइयो । एमालेभित्र मनमोहन समूहकाहरुलाई कैदी जस्तो बनाएर राखियो ।

यता एमालेमा त्यस्तो हुँदै थियो, उता अहिलेको माओवादी तथा त्यसबेलाको नेकपा एकता केन्द्रमा चाहिँ प्रचण्डले विरोधी सखाप पार्ने अभियान चलाइरहेका थिए । बहुदल आएपछि प्रचण्ड नेतृत्वका मशालले चौथो महाधिवेशन, सर्वहारावादी श्रमिक संगठन, नेकपा मालेमा, नेकपा जनवादी लगायतसँग एकीकरण गरेर एकता केन्द्र बनाएका थिए । एकीकरण त भयो तर पूर्व पार्टीहरु गुटमा रुपान्तरित भए ।

बहुदलपछि एमाले र एकताकेन्द्र दुवैमा गुट यति फस्टायो कि गत तीस वर्षको यी दुई पार्टीको इतिहासको मुख्य पक्ष नै गुटको लडाईँ बन्यो । अहिले यी दुवै पार्टी एकीकरण प्रकृयामा प्रवेश गरेका छन् । अब यिनमा गुट कस्तो होला ?

एमालेको अहिलेको गुट

नेपालमा राजनीतिक पार्टीका नेता भनेको नै गुटको नेता हो । झन् कम्युनिष्ट पार्टीमा गुट बिना नेता बन्न सकिँदैन । गुटले नेता बनाउँछ र नेताले गुट बनाउँछ । जसले गुट बनाउन सक्दैन उ नेता बन्न पनि सक्दैन ।

एमालेमा अहिले कतिवटा गुट छन् ? गन्न सकिने अवस्था छैन । किनभने एमालेमा गुटभित्र पनि उपगुट फस्टाएको छ र कतिपय अवस्थामा उपगुट नै हावी हुने गरेको छ ।

एमालेमा केपी ओली र माधव नेपालको मुख्य गुट छ । झलनाथ खनालले महासचिव हुँदा बेग्लै गुट बिकास गर्न खोजेका थिए तर उनको गुट बलियो छैन । झलनाथको गुट तितरवितर भइसकेको जानकारहरु बताउँछन् । तथापि, गुट बचाएर राख्न झलनाथ प्रयत्नशील छन् । उनको गुटले कहिले ओली गुट र कहिले माधव गुटको बीचमा बसेर पिङ खेलिरहेछ ।

ओलीको गुट सशक्त हुने नै भयो, माधवको गुट पनि कम शक्तिशाली छैन ।

ओली र माधवको गुटलाई चुनौती दिने गरी अगाडि बढिरहेको छ वामदेवको गुट । वामदेव उनै हुन् जसले विगतमा एमाले विभाजित गरेर माले बनाए । पछि एकीकृत भए । एकीकृत भएपछि वामदेवले केही समय गुटको अस्तित्व देखाएनन् तर पछि क्रमश गुट बिकास गर्दै लगे ।

बेलाबखत गुटको बिरोध गर्ने नाममा विभिन्न नेताले स्वतन्त्र गुटको बिकास गर्न खोज्ने गरेका छन् तर एमालेमा ओली, माधव र वामदेव बाहेकको गुटको अस्तित्व छैन भने पनि हुन्छ ।

बिगतको माक्र्सवादी समूहको गुट लोप भइसकेको छ । मनमोहन अधिकारीले गुट बनाउन रुची नै देखाएनन् । उनीपछिका नेता सहाना प्रधान र भरतमोहन अधिकारीले पनि गुट बनाउन रुची देखाएनन् । माक्र्सवादी गुटको कुनै अस्तित्व रहेन ।

अहिले नै एमालेमा गुटको यस्तो मारामार छ, माओवादी पनि एकीकृत भएपछि यी गुटहरुको रणनीति के हुन्छ भन्ने उत्सुकताको विषय बनेको छ ।

माओवादीमा गुट छैन

अनौठो कुरा हो कि अहिले माओवादी केन्द्रमा कुनै गुट छैन, उपगुट मात्र छ । जनयुद्धको बेला बाबुराम र प्रचण्ड गुट थियो ।

जनयुद्धपछि मोहन वैद्य र रामबहादुर थापा वादलको नेतृत्वमा नयाँ गुट बिकास भयो । यो गुट विभाजित भयो । नयाँ पार्टी बन्यो । पछि रामबहादुर प्रचण्डकै पार्टीमा फर्किए । बाबुराम पनि पार्टी छाडेर हिँडे ।

जसरी बिगतमा एमाले फर्किएपछि सुरुमा वामदेवले गुटगत अस्तित्व नदेखाई बसेका थिए, त्यसैगरी वादल अहिले गुटगत अस्तित्व नदेखाई बसेका छन् ।

जनयुद्धपछि माओवादीमा मिसियो नारायणकाजी श्रेष्ठको समूह । उनको समूह तितरवितर भइसकेको छ । नारायणकाजीले बेग्लै गुट चलाउने प्रयास गरे पनि उनको गुटको हैसियत उपगुटको जस्तो छ ।

माओवादीमा चुनौतिरहित छन् प्रचण्ड । वर्षमान पुनदेखि जनार्दन शर्मासम्मले उपगुट चलाइरहेका छन् ।

एकीकरणपछि के हुन्छ ?

एकीकरणपछि प्रचण्ड पनि एकीकृत पार्टीभित्रको एउटा गुटको नेता हुनेछन् । अहिलेको नेपालमा गुटबिनाको पार्टी, खासगरी गुटबिनाको कम्युनिष्ट पार्टी कल्पना नै गर्न सकिन्न । जीवनभरी गुट चलाएर नेता बनेका प्रचण्डले आफ्नो गुट विघटन गर्ने कल्पना पनि गर्न सकिन्न ।

अहिले व्यापक चर्चा के छ भने एकीकरणपछि प्रचण्डले माधव गुटसँग हात मिलाउँछन् । तर, यसो नहुन सक्छ । पार्टीभित्र ओली गुट, प्रचण्ड गुट, माधव गुट र वामदेव गुट समानान्तर रुपमा रहन सक्छन् । आवश्यकता अनुसार विभिन्न गुटले आपसी सहकार्य गर्न सक्छन् ।

महाधिवेशनसम्ममा केही गुट एकीकरण भएर नयाँ परिस्थिति आउन सक्छ । त्यसैगरी नयाँ गुट पनि जन्मन सक्छ तर यो सम्भावना न्यून देखिएको छ ।

एमाले यस्तो पार्टी हो जसमा बिगतमा गुट औपचारिक रुपमै स्थापित भएको थियो । महाधिवेशनमा औपचारिक रुपमै गुटगत चुनाव भएको थियो । भावी महाधिवेशनमा यसरी नै गुटगत चुनाव हुन्छ कि हुन्न भन्न सकिन्न तर त्यसो नहुने नै सम्भावना बढि देखिन्छ । किनभने बिगतको गुटगत महाधिवेशनको अभ्यास गलत भनेर एमालेले निर्णय गरिसकेको छ ।

प्रचण्ड ओली एकै ठाउँ

प्रचण्डले माधव गुट र वामदेव गुटलाई समान व्यवहार गरे पनि, विश्वासमा लिन खोजे पनि ओली गुटसँग टक्कर लिने सम्भावना न्यून मात्र देखिन्छ । किनभने भविष्यमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री बन्न प्रचण्डलाई ओलीको सहयोग अपरिहार्य हुन्छ ।

ओलीले पनि प्रचण्डलाई टाढा नराख्न सक्छन् । किनभने प्रधानमन्त्री पदमा टिकिरहन र केही गरेर देखाउन उनलाई प्रचण्डको सहयोग अपरिहार्य हुन्छ ।

एकीकरणपछि गुट व्यवस्थापन निकै चुनौतीपूर्ण हुने निश्चित छ । तर, गुट व्यवस्थापनमा एमाले निकै अनुभवी छ । एमालेको अनुभवले एकीकृत पार्टीलाई फाइदा हुनेछ । गुटगत विभाजन जति चर्काे भए पनि पार्टीभित्रै बसेर गुटगत अभ्यास गरेसम्म गुटले पार्टीलाई कमजोर बनाउँछ नै भन्ने छैन ।

तस्बिर साभार – दि हिमालयन टाईम्स

Loading...
Related Posts
Don't miss it
Editors choice