• शनिबार ०८, बैशाख २०७५

प्रधानमन्त्री ओली फेरी बने शक्तिशाली : यसरी लगाए शक्तिशाली मानिएका नेताहरुलाई ठेगान….

काठमाडौं ।

केपी ओलीले अनेक खालका अडान लिएका छन् । तर, प्रधानमन्त्री बनेपछि उनले यस्तो अडान लिए जो पूरा हुन मुश्किल देखिन्थ्यो । त्यो अडान हो उपप्रधानमन्त्री नराख्ने ।

बिगतमा मन्त्रिमण्डल उपप्रधानमन्त्रीमय बन्ने गरेको थियो । देउवा सरकारमा चारजना उपप्रधानमन्त्री थिए । उपप्रधानमन्त्री बनाउनैपर्ने वाध्यता प्रधानमन्त्रीहरुलाई हुन्थ्यो । ओलीले पनि विगतमा उपप्रधानमन्त्री राखेका थिए । तर, यसपटक ओलीले अनौठो अडान लिए, उपप्रधानमन्त्री नै नबनाउने ।

उपप्रधानमन्त्री बन्न एमाले र माओवादीका एक दर्जन जति नेताहरु खुट्टा उचालेर बसेका थिए । दुवै पार्टीका शक्तिशाली नेताहरुलाई साइड लगाएर उपप्रधानमन्त्री नै नराख्ने ओलीको अडान धेरै दिन नटिक्ने अड्कल गरिएको थियो ।

तर, ओलीले मन्त्रिमण्डलमा चारजना यस्ता नेतालाई थपे जसमध्ये तीनजना ठाडै उपप्रधानमन्त्री पदका दावेदार थिए । एमाले महासचिव ईश्वर पोखरेल रक्षा मन्त्री बनेका छन् । माओवादीका रामबहादुर थापा गृह मन्त्री बनेका छन् । माओवादीकै मातृका यादव उद्योग मन्त्री बनेका छन् । यी तीनैजना उपप्रधानमन्त्री पदका दावेदार थिए ।

अर्थमन्त्री बनेका युवराज खतिवडा चाहिँ उपप्रधानमन्त्री पदका दावेदार थिएनन् ।

पार्टी महासचिव ईश्वर पोखरेल नै मन्त्री बनेपछि अब एमालेबाट कसैले पनि उपप्रधानमन्त्री पदमा दावी गर्न नसक्ने अवस्था सिर्जना भएको छ । किनभने पार्टी महासचिव मन्त्री बनेपछि पार्टीभित्रको प्रोटोकलमा महासचिव भन्दा तलकाले उपप्रधानमन्त्री पदमा दावी गर्न नमिल्ने भयो ।

त्यसैगरी रामबहादुर थापा वादल माओवादीमा प्रचण्डपछि दोस्रो शक्तिशाली नेता हुन् । वरिष्ठताका दृष्टिले पनि उनी अग्रणी छन् । वादल उपप्रधानमन्त्री नबनेर मन्त्री मात्र बनेपछि अब माओवादी भित्रबाट कसैले पनि उपप्रधानमन्त्री पदमा दावी गर्नसक्ने अवस्था रहेन । त्यसैगरी मातृका यादव अर्का वरिष्ठ नेता हुन् । उनी पनि मन्त्रीमात्रै छन् ।

उपप्रधानमन्त्री बन्ने हैसियतका पोखरेल, वादल र यादव मन्त्री बन्न मान्नुलाई ओलीको उपप्रधानमन्त्री नबनाउने अडानको विजय ठानिएको छ ।

उता फोरमलाई पनि मन्त्रिमण्डलमा भित्र्याउने कसरत भइरहेको छ । फोरम मन्त्रिमण्डलमा गयो भने अध्यक्ष उपेन्द्र यादव स्वत दावेदार हुनेछन् । बिगतमा उपप्रधानमन्त्री बनिसकेका उपेन्द्रले मन्त्री बन्न मान्छन् कि मान्दैनन् भन्ने टुंगो लागेको छैन । उनलाई उपप्रधानमन्त्रीका रुपमा मन्त्रिमण्डलमा भित्र्याउन ओली अनिच्छुक रहेको प्रधानमन्त्री निकट नेताहरुले बताएका छन् ।

ओलीले उपप्रधानमन्त्री नबनाउने अडान कार्यान्वयन गरेर देखाएका छन् । उपप्रधानमन्त्री कसैलाई नबनाउने संकेत र सन्देश दिनकै लागि पनि उनले पोखरेल, वादल र यादवलाई मन्त्रिमण्डलमा भित्र्याएको बुझिन्छ ।

उपप्रधानमन्त्री नबनाउने अडानमा ओलीले अहिले जितेका छन् । भविष्यमा पनि उपप्रधानमन्त्री नबनाई उनले मन्त्रिमण्डल चलाउँछन् ? यो प्रश्न पनि उठिरहेको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice