• बिहीबार ०४, असोज २०७५

मन्त्रिमण्डल बिस्तारबारे चितवन पुगेर प्रचण्डले गरे यस्तो खुलासा

चितवन,– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन् ।

शनिबार प्रेस सेन्टर र प्रेस चौतारी नेपालले चितवनमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार मन्त्रिमण्डल बिस्तार हुने बताएका हुन् ।

‘बिहानमात्रै प्रधानमन्त्रीजीसँग मेरो कुरा भयो । पर्सी ३ बजे सपथ हुन्छ र मन्त्रिमण्डलले पूर्णता पाउँछ’, प्रचण्डले भने, भोलि बेलुकासम्म नाम पनि फाइनल हुन्छ ।’

दुई पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै रहेर नेतृत्वलाई मिलाउन सकस पर्दा क्याबिनेटलाई पूर्णता दिन ढिलाई भएको बताइएको बेला प्रचण्डले यस्तो बताएका हुन् ।

फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका दुई नेतालाई मन्त्री बनाउनु बाहेक थप मन्त्रीपरिषद् बिस्तार गर्न सकेका छैनन् ।

दुई पार्टीबीच अहिले भागबण्डा मिलिसकेको भएपनि मन्त्रीको नामबारे दुबै पार्टीले टुंगो लगाउन नसक्दा ढिलाइ भइरहेको छ । एमाले र माओवादी केन्द्रबीच भएको समझदारी अनुसार एमाले १० र माओवादी केन्द्रले ७ मन्त्रालय पाउने भएका छन् ।

प्रचण्डको दाबी अनुसार सबै वर्ग क्षेत्रलार्ई मिलाउनु पर्दा केही समय लागेको जस्तो देखिएको हो । यद्यपी तत्काल सरकार विस्तार गरेर जनताको पक्षमा काम गरिहाल्ने हुटहुटी वर्तमान सरकारमा रहेको प्रचण्डको भनाई छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बिहीबारको बैठकले मन्त्रिमण्डलमा सहभागी हुने सदस्यको नामावली चयन गर्न अध्यक्ष प्रचण्ड तथा नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मेवारी दिएको थियो ।

माओवादी केन्द्रले पार्टीका वरिष्ठ नेता थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । तर, अरु मन्त्रीको भने नाम टुंगो लगाउन नसकेको हो ।

यता एमालेले भने मन्त्री चयन गर्ने जिम्मेवारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice