• बिहीबार ०४, असोज २०७५

माधव नेपाल भन्छन-‘राष्ट्रपति बनेर अरुलाई उपदेश दिने मेरो उमेर भइसकेको छैन’

पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल खरो वक्ता मानिन्छन् र परिआउँदा गोप्य रणनीतिकारको भूमिका पनि उनले निर्वाह गरेका छन्। शान्ति प्रक्रियामा होस् या दुईदुई ठाउँबाट निर्वाचन हार्दा पनि प्रधानमन्त्री बन्ने परिस्थिति निर्माणमा होस्, उनले पार्टी अन्य दलका नेताहरुलाई आश्वस्त गर्न सकेका छन् अतीतमा। केपी ओलीको नेतृत्वमा माओवादीसँग एकता हुन लागेको वर्तमान सन्दर्भमा भावी राजनीति, उनको आफ्नै भूमिका, खासगरी नेपालको छिमेकीहरुसँगको सम्बन्ध र आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप लगायतका विषयमा  गरेको कुराकानी प्रस्तुत गरेका छौ।

निर्वाचन सम्पन्न भई नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भइसक्नु भएको छ। के यो संविधान कार्यान्वयमा आएको र राजनीतिक स्थायीत्व सुनिश्चित भएको अवस्था हो?

पक्कै पनि हो, संविधान कार्यान्वयनको सुखद सुरुवाती चरणमा छौं हामी। त्यसमा ठोष उपलब्धि हामीले हासिल गरेका छौं। निर्वाचन शान्तिपूर्वक सम्पन्न पनि गरेका छौं। निर्वाचनको नतिजाले पनि हामीमाथि जिम्मेवारी थपेको छ। २० वर्षसम्म स्थानीय निकाय जनप्रतिनिधि विहिन थिए।

संविधान कार्यान्वयनका महत्वपूर्ण प्रक्रिया अघि बढिरहेका छन् र त्यसले निरन्तरता पाउने छ। संधिवान कार्यान्वयनको जगमा हामी बसिसकेका छौं। अब हाम्रो सामू संक्रमणकालको कुनै पनि बहाना छैन। हामी आर्थिक विकासको मूल उद्देश्यमा अघि बढ्न थालिसकेको छौं।

अब सुशासन, जनताको सेवा सुविधा, तीव्र आर्थिक विकास, युवालाई रोजगारी दिने लगायत जल्दाबल्दा विषय प्राथमिकतामा पर्ने छन्।

भ्रष्टाचार अन्त्य गर्ने विषय पनि हाम्रो खास विषय हुने छ। मुलुकका सबै सम्भाव्यताको अध्ययन, अनुसन्धान र त्यसको सदुपयोगको विषय अव हाम्रो प्रमुख विषय बन्ने छन्। सबै जनताले अब विकास निर्माणको काममा सहयोग गर्नु पर्छ। विकासको काममा सबैले हात फैलाउनुपर्छ । सत्ता, प्रतिपक्षी, नागरिक समाज सबै त्यसमा एक जुट हुनुपर्ने छ।

पूर्व घोषणा अनुसार वाम एकताको कति नजिक तपाईहरु हुनुहुन्छ? एकतामा धेरै व्यवधान आएको छ भनिन्छ। त्यसले जनता आक्रोशित र निराश हुँदैनन्?

वाम एकताको धेरै नै नजिक छौं । म पनि एकताको मुख्य हिमायती नै हुँ। सिद्धान्तमा आधारित एकताको पक्षधर हुँ म। तर अवसरवादी एकताको पक्षमा भने म छैन। राष्ट्र र जनताको हितमा गरिने एकतामा मलाई सँधै गर्व हुनेछ। एकतालाई मूर्तरुप दिन सबै शीर्ष नेताहरु लाग्नु भएको छ, यो सम्भवत छिट्टै टुुंगिने छ। तर यसका प्रक्रियाहरु धेरै छन् र लामा हुने छन्।

विचार एक बनाउन कार्यदल बनाउँदै छौं। संगठन व्यवस्थापनका लागि पनि कार्यदल निर्माण हुनेछ। तर, अहिले विभिन्न मन्त्रीहरुको निधो गर्नु पर्ने छ। विभिन्न पद पूर्ति गर्नु पर्ने छ। त्यसमा पनि दुवै पार्टीबीच छलफलको आवश्यकता छ।

एकताको घोषणा गरेको चार महिना पुगिसकेको छ। अहिले सम्म पनि स्पष्ट खाका नबन्नु स्वभाविक हो र?

घोषणा अनुसार ठोस प्रगति त भएकै छ । अन्यथा प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाको चुनावसँगै सरकार गठन हुने थिएन। मुख्यमन्त्री, मन्त्री लगायत संसदीय दलका नेताहरु चुन्ने कामले पनि समय लियो। एकता प्रक्रिया जुन गतिले अघि बढ्नु पर्ने थियो त्यो हुन नसकेको भने सत्य हो। तालमेल सम्बन्धी पनि काम जुन गतिले हुनु पर्ने थियो त्यो हुन सकेको छैन। तर त्यसलाई अस्वभाविक भने मान्न सकिन्न। धेरै टाढा रहेका दुई ठूला दलहरु जति प्रक्रिया पुर्‍याएर मिल्यो त्यत्ति नै राम्रो हुने छ। हामीले धेरै तालमेल र गठबन्धन पनि देखेकै छौं। वाम गठबन्धनले मात्रै तालमेललाई दिगो बनाउँदै लगेको छ। तर प्रजातान्त्रिक भन्ने शक्तिहरुले त्यसो गर्न सकेनन्।

वाम एकतामा सिद्धान्तको निर्क्यौलसँगै प्रधानमन्त्रीको पद आलोपालो गर्ने भन्ने विषयले पनि धेरै विवादको रुप लिइरहेको छैन र?

सिद्धान्त एक बनाउन समय लाग्छ । मैले अघि पनि भनिसके दुई विपरित ध्रुबका दलहरुको एकता गम्भीर कुरा हो। लामो मन्थनपछि मात्रै त्यो एक हुने छ। आलोपालोको विषयमा त्यस्तो कुनै विवाद छैन। दुवै अध्यक्षले आलोपालो नै गरेर प्रधानमन्त्रीको पद सम्हाल्ने सहमति भइसकेको छ।

वाम एकतालाई लिएर एमालेभित्र एक मत छ त ?

एकदमै एक मत छ। हाम्रो पनि ठूलो भूमिका छ एकता प्रक्रियालाई अघि बढाउन। सबै नेताहरु जसरी हुन्छ छिट्टै र सरल तरिकाले एकता टुंग्याउनु पर्छ भन्नेमै हुनुहुन्छ। कोही कसैको विमति छैन, मात्र जति धेरै छलफल गर्‍यो, त्यति नै राम्रो हुने हाम्रो विश्वास हो।

तर एमालेमा त देखिने गरी गुटबन्दी रहेको टिप्पणी भित्रैबाट आउन थालेका छन् र खासगरी अष्टलक्ष्मी शाक्यलाई नेतृत्वबाट बञ्चित गरिँदाको प्रसंगमा?

एमालेलाई अघि बढाउन अष्टलक्ष्मी शाक्यजीको जुन भूमिका र योगदान रह्यो त्यो बुझ्नु जरुरी थियो। पार्टीमा त्यो महसुस नगर्ने, आफ्नो अन्तस्करणबाट निर्णय नगर्ने, गुटगत भावनाबाट चल्ने, स्वार्थी भावनाबाट चल्ने लगायतका प्रवृति विद्यमान छन्। नभए त्यति ठूलो योगदान पुर्‍याएका नेता शाक्यलाई मुख्यमन्त्री हुनबाट किन बञ्चित गरियो ? उहाँ यो पार्टीको सबैभन्दा पुरानो र सक्षम नेता मानिनुहुन्छ। एउटा सिंगो इतिहासको अनुभव बटुलेको र त्याग गरेको नेतालाई किन नेतृत्वबाट बञ्चित गराइयो, त्यो खोजीको विषय बन्नु पर्छ। उहाँको अहिलेसम्मको कामलाई लिएर कसैले पनि औंला ठडाउन सकेका छैनन्। मन्त्री भएर पनि राम्रो काम गर्नु भयो। तर विडम्बना, उहाँलाई नै रोकियो। काठमाडौंको सम्पन्न नेवार परिवारको व्यक्ति जसले नेपालका कुनाकन्दरा सबै चिन्यो र चिनायो त्यही व्यक्तिलाई पराजित गर्नु भनेको नेकपा एमालेका तीन नम्बर प्रदेशका सदस्यहरुको अनुचित निर्णय भएको म ठान्दछु।

त्यसो हुनुमा नेतृत्व तह निर्दोष छ त?
यसमा माथिकै मान्छेहरुले विभिन्न तहबाटबाटै हात हालेको भन्ने मैले पनि सुनेको छु। यसमा छानबिन गर्न पनि लगाउनु पर्छ। गुटबन्दीमा लाग्ने काम नेतृत्व तहबाट हुनु एकरति राम्रो होइन। त्यसमा पनि चासोकै नभएकाहरुले समेत हात हालेको मैले सुनेको छु। खासगरी महिलाले महिलालाई नै हराउने काम भइरहेको छ।

यो विषय अति नै अनुचित र निन्दनीय छ। यस्तो अवस्था रहने हो भने लामो समयसम्म पार्टीलाई अघि बढाउन सकिन्न र हामी कोही पनि सफल हुन सक्दैनौँ। हाम्रो विकास गर्ने सोच पनि पूरा हुन सक्दैन।

त्यसो भए तपाई र अध्यक्ष केपी ओलीबीच केही महत्वपूर्ण विषयमा मतभेत छ!

त्यस विषयमा आवश्यक भएमा र समय आएपछि समीक्षा गरौंला। तर चार पाँच वटा विषयमा एमाले र अन्य पार्टीले पनि ध्यान दिनैपर्छ।

के हुन ती विषय ?

पहिलो, पार्टीको कमिटीको निर्णयको आधारमा सबै चल्ने संस्कार बसाल्नु पर्छ। दोस्रो, जुनसुकै विषयमा पनि कमिटीभित्र र नेतृत्व तहमा व्यापक छलफल गरेर मात्र निर्णय लिनुपर्छ। काम गर्ने सिलसिलामा जति पनि विवाद वा विमति आउँछन्, त्यो छलफलबाटै टुङ्ग्याउनु पर्छ। गहन छलफल गरेर निष्कर्शमा पुग्नुपर्छ। तेस्रो, सबै निर्णय पारदर्शी पनि हुनुपर्छ। खुसुखुसु गरेर निर्णय गर्नाले जनताको विश्वास टु्ट्छ। चौथो, राम्रो गरेकोलाई राम्रो गर्‍यो। नराम्रो गरेकोलाई नराम्रो भन्नु पर्छ। पाँचौ, शीर्ष नेताहरु वा नेतृत्व मिल्यो भने पार्टीका अन्य नेता तथा कार्यकर्ता एक जुट हुन्छन् र नमिल्दा फुट्ने काम हुन्छ।

त्यसैले पार्टीका शीर्षनेतादेखि कार्यकर्तासम्म विश्वास र समझदारीको वातावरण बन्नु पर्छ। त्यो भएपछि मात्रै राजनीतिक दल एक भएर अघि बढ्न सक्ने छन्।

त्यसो नहुँदा संविधान कार्यान्वयन पनि प्रभावित बन्न सक्छ?

मलाई लाग्दैन त्यो अवस्था रहिरहन्छ । हामी सचेत हुँदै अघि बढ्नुपर्छ। सिस्टममा घरदेखि देश चलाउनुपर्छ। कानूनी राज्यको पक्षमा उभिनु पर्छ र त्यही अनुसार काम गर्नु पर्छ।

मधेदसकेन्द्रीत दलहरुले एमालेलाई मधेसी विरोधीकारुपमा चित्रित गरेका छन्। यसमा कतिको सत्यता छ?

यो आरोपमा कुनै सत्यता छैन। एमालेले मधेस या पहाड भनेर कहिल्यै छुट्याएन। एमाले जतिको मधेसप्रेमी अरु कुनै दल छैन।
मधेसी जनताकै हितमा लागेको पार्टी एमाले मात्रै हो। सबै जनतालाई हामीले नेपालीको आँखाबाट हेरेका छौं। मधेसका जनतालाई दुःख दिने, सताउने काम, लाभ उठाउने प्रवृति मधेसी दलका नेताहरुले गरिरहेका छन्। अन्याय र असमानता मधेसी पार्टीमै छ। उपयुक्त कार्यकर्तालाई अवसर दिँदैनन उनीहरुले। उनीहरुले आफ्ना नातागोतालाई मात्रै लाभ हुने काम गरिरहेका छन्। आफ्ना मान्छेलाई सांसद बनाउने र सुविधा दिने बाहेक अरु काम हुन सकेको छैन् उनीहरुबाट।

मधेस केन्द्रित दलको संविधान संशोधनको माग र सहकार्यमा तपाईको धारणा के छ?

उनीहरुको मागबारे छलफल गर्न हामी सँधै तयार थियौं र छौं। उनीहरुकै माग अनुसार नागरिकता समस्या समाधानका लागि एमाले सबैभन्दा पहिले अग्रसर भएको थियो। एमालेले नै सुकुम्बासी समस्या समाधान गर्न अग्रसरता देखाएको हो। उनीहरुको माग संवोधन गरे देश र जनताको हित हुन्छ भने आउनु पर्‍यो। छलफललाई तीव्रता दिनु पर्‍यो। एउटा माग पुरा गर्दा अर्को असन्तुष्ट भने हुनुहुँदैन। एक सय २६ वटा जातजाति भएको यो मुलुकमा सबैको हित हुने गरी मधेसी दलको माग पुरा हुनु पर्छ । जातीय एकता र सद्भाव कायम गर्न उनीहरु पनि जिम्मेवार हुनु पर्छ ।

संघीयताको उपयुक्तताबारे अनेक अड्कलबाजी भइरहेका छन्। के यसको पुनर्समीक्षाको आवश्यकता देख्नु हुन्छ?

अहिले हामी संविधान कार्यान्वयनको पहिलो चरणमा छौं। संविधान अनुसार सबै प्रक्रियाहरु अघि बढ्न बाँकी नै छ। नयाँ कामको सुरुवात गर्दा केही समय लाग्ने र केही रकम धेरै खर्च हुनु स्वभाविक हो। त्यसको प्रतिफल पनि त राम्रौ मिल्ला। त्यसैले अहिले नै हतारमा बोल्नु पनि सान्दर्भिक छैन। समयक्रममा समिक्षा पनि होला ।

केही विदेशी दातृ निकाय त स्थानीय तहसँग सिधै सहकार्य गर्ने अभियानमा छन्, हैन र?

यो पटक्कै राम्रो होइन । र, यस्तो हुनुहुँदैन। बिना अनुमति वा जुनसुकै कामका लागि विदेशीलाई हाम्रो मुलुकमा घुसाउनु हुँदैन। नेपाल जस्तो अतिनै संवेदनशील देशमा अनैतिक कामका लागि प्रोत्साहन गर्न मिल्दैन। विदेशी राष्ट्रलाई सीमा नाघ्न दिनुहुन्न। उनीहरुलाई एउटा निश्चित ठाउँमा मात्रै राख्नुपर्छ । र केन्द्रीय सरकारले छिनोफानो गरेपछि मात्रै विदेशी निकायलाई प्रवेशको अनुमति दिनु पर्छ। हामीलाई अरु देशले पनि त्यसो गर्न दिन्नन् अनि हामी किन दिने?

तपाई पूर्व प्रधानमन्त्री हुनुका साथै तपाईले कुटनीतिलाई सक्षम तरिकाले सम्हालेको श्रेय धरैले दिन्छन् तर एमालेको पछिल्लो शासनकालमा भारतसँग सम्बन्ध टाढिएको र चीनसँग नजिकिएको विश्लेषण भारतीय सञ्चारमाध्यम र संस्थापनमा छ । यसलाई कसरी हुेर्नु हुन्छ ?

यस्तो हुनुमा भारत आफैँ भागिदार छ । उसले दुई वटा अति गलत काम गर्‍यो। जसको पीडा नेपालीले कहिल्यै भुल्न सकेका छैनन्। पहिलो, भारतीय विदेश सचिवलाई नेपाल पठाएर यहाँका नेतालाई हप्कीदप्की गर्‍यो। तर नेपालले आफ्नो स्वाभिमानमा आँच आउन दिदैन। नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षप गर्ने कुनै अधिकार नै छैन। नेपालमा कहिले संविधान ल्याउने र त्यो कस्तो बनाउने भन्ने विषयमा भारतले हस्तक्षेप गर्न मिल्दैन। दोस्रो, नेपालमा नाकाबन्दी लगाउने आदेश दिनु भारतको ठूलो गल्ती हो। त्यो स्वाभिमान नेपालीलाई स्वीकार्य छैन र हुँदैन पनि। भारतले नेपालीको मन धेरै नै दुखाएको छ। तर पनि अब सम्बन्ध सुुधारका लागि प्रयास गर्नु पर्छ, त्यो चाहे जनताको स्तरबाट होस चाहे नेताको स्तरबाट।

तपाईँले यसो भनिरहँदा १२ बुँदे सम्झौतामार्फत नेपालको आन्तरिक राजनीतिमा भारतको संलग्नातलाई तपाई लगायत नै वैधानिकता दिएको हैन?

कसले भन्न सक्छ कि भारतको संलग्नामा १२ बुँदे सम्झौता भएको हो भनेर ? भारतको कुनै पनि संलग्नता छैन। म आधिकारिकरुपमा भन्दैछु। त्यो सम्झौताको मूलमा म नै थिएँ। गिरिजाबाबुलाई काठमाडौंबाट दिल्ली लग्ने पनि मै हो। सम्झौताबारे भारतका कुनै नेतालाई जानकारी दिएका थिएनौं।

भारतीय तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले त त्यो सम्झौता भारतकै मध्यस्ततामा भएको खुलासा गर्नु भएको हो नि?

त्यो गलत हो । कि उहाँले कसले भनेको हो भन्नु खुलाउनु पर्‍यो। हैन भने भ्रम फैलाएर नेपालमा फाटो ल्याउने काम जो कसैबाट पनि हुनुहुन्न। एमालेको महत्वपूर्ण नेता म पनि हुँ, जसले सबै काम अघि बढाउन नेतृत्व लिएको थिएँ, भारतले त्यसो गरेको हुन्थ्यो भने त मलाई थाहा हुने थियो नि किन थाहा भएन? भेटघाट भएको सबैसँग हो तर हाम्रो कुरा कसैलाई भनेका थिएनौं तीन पार्टीबीचमा भारतबारे चर्चै भएन।

आगामी राजनीतिमा तपाईँको भूमिका के हुुन्छ?

पार्टीलाई अझ सशक्तरुपमा अघि बढाउन, नेपाल र अन्य मुलुकको सम्बन्ध राम्रो बनाउने भूमिका त हुने नै छ। त्यसबाहेक पनि सामाजिक, आर्थिक विकासका मुद्धामा मलाई अझै काम गर्ने मन छ। प्रजातन्त्र, सामाजिक न्याय, सशक्तिकरण लगायत विषय पनि मेरो प्राथमकितामा पर्ने छन्। म यो देश समृद्धितर्फ लम्किएको हेर्न चाहन्छु।

अन्तमा, शितल निवासलाई अर्को गन्तव्य बनाउनुहुन्न?

मलाई राष्ट्रपति बन्ने अफर दुईपटक आइसकेको छ। तर मैले अस्वीकार गरेको छु। गरिमामय पदमा बसेर अरुलाई आनन्दले बसेर उपदेश दिने मेरो उमेर पटक्कै भएको छैन। म ऊर्जाशील छु र त्यस्तै जीवन बिताउन चाहन्छु। शान्त भएर बस्न सक्दिन। जनताबीच नै जान मन लाग्छ। कतिपय विषयमा भिड्नै पर्छ। राजनीतिमा लाग्ने मेरो उमेर छ। उमेर बितेपछि मात्रै राष्ट्रपतिबारे सोचौंला। अहिले हतार छैन। हैन भने मलाई हिजो मात्रै केपी ओलीले विद्या भण्डारी भएको ठाँउमा जानुहोस भन्नु भएको थियो। तर मैले हुँदैन भने। उहाँले मात्र होइन बामदेव गौतम, ईश्वर पोखरेल लगायत नेताहरुले दवाव दिइरहनु भएको छ, तर म जान्न। सुरुमा प्रचण्डजीले पनि दबाब दिनु भएको थियो। त्यो बेला उहाँले नै धोका दिनु भयो। त्यो पनि राम्रै भयो, म उपप्रधानमन्त्री र पछि प्रधानमन्त्री बन्न पाएँ। रामवरण यादवजस्तो खुम्चिएर बस्नु परेन।

Loading...
Related Posts
Don't miss it
Editors choice