• सोमबार ११, असार २०७५

क्रान्तिबाट नाफामा पाएको जीवन जनताको मुक्तिमा लगाउँछु– ४ नं. प्रदेश सभामुख अधिकारी

पोखरा ।

उनीसँग बग्रेल्ती सपना थिए । तर, सभामुख बन्छु भन्ने सपना थिएन । थियो त गरिबीबाट कसरी मुक्ति पाइएला भन्ने । गरिबी र अभावबाट गुज्रँदै गर्दा उनले थुप्रैपटक मीठो खाने सपना देखे ।

अप्ठेरै सही, जीवनलाई कसरी गुजार्न सकिन्छ भन्ने सपना पनि उनले देखेकै हुन् । देखेकै हुन्, अत्तर छर्केको सुकिलो कपडा लगाएर कुनै मान्छे उनकै छेऊबाट आउजाउ गर्दा एकजोर सुकिलो कपडा लगाउने सपना ।

के चाहन्थे त उनी ? जब उनी बाआमासँगै मेलपात गर्थे, उनले त्यतिबेला किसानले खेतबारीमा लहलह फलाएको अन्नपातको सपना देखे । जब उनले कक्षामा गुरुहरुले पढाएको ध्यान दिन थाले, म शिक्षक बन्छु भन्ने सोचे । जब उनले धार्मिक पुस्तकहरु पढे, म धार्मिक व्यक्ति हुन्छु कि जस्तो माने । जबजब उनी बाल्यकाललाई पछाडि धकेल्दै अगाडि बढे त्यतिबेला देखे जीवनका झन् ठूला चुनौतिका पहाड । जहाँ चढेर हेर्नु थियो आफ्नै जिन्दगीको उचाई र नियाल्नु थियो, गन्तव्य ।

जब उनी समाजलाई पढ्न सक्ने भए, मान्छेबीच समानताको सपना देखे । जब उनले राता क्रान्तिका किताबहरु पढे, वर्गीय मुक्तिको लडाकू आफूभित्र पाए । जब उनले मार्क्सवादी किताबहरु पढे, गुञ्जिए कानमा क्रान्तिका गीत । अनि उनी होमिए, समाज बदल्ने क्रान्तिकारी सोच बोकेर राजनीतिको जटिल यात्रामा ।

यो यात्रा पनि कहाँ सजिलो थियो र ? उनले यही राजनीतिक यात्रामा अब बाँचिन्न भन्ने पनि सोचेकै हुन् । तर, मुक्तिका लागि हिँडेको सिपाही मर्नुहुँदैन भन्ने भन्ने कुराले जब उनलाई घच्घच्याउँथ्यो, ऊर्जा भरिन्थ्यो जिउमा । त्यही ऊर्जाले उनलाई बढ्यौलीतर्फ धकेल्दै छ र त्यही ऊर्जाले अहिले उनलाई माननीय सभामुखको कुर्चीमा ल्याएर बिराजमान गराउँदैछ ।

पर्वत पाङकोडाँडामा एक किसान दम्पतीबाट ०२२ सालमा संसार हेर्ने अवसर पाएका नेत्रनाथ आज प्रदेश नम्बर ४ को सभामुख भए

उनी अर्थात नेत्रनाथ अधिकारी, प्रदेश नम्बर ४ को प्रदेश सभा सभामुख । पर्वत पाङकोडाँडामा एक किसान दम्पतीबाट ०२२ सालमा संसार हेर्ने अवसर पाएका नेत्रनाथ आज प्रदेश नम्बर ४ को सभामुख भए ।

झट्ट हेर्दा सालिन, शान्त र सरल स्वाभावका नेत्रनाथको जीवन भने त्यति सरल बनेन । थुप्रै हण्डर र ठक्कर खाँदै बांगोटिंगो उनको राजनीतिक जीवनले आज उनलाई साझो बाटोबाट सर्वसम्मत सभामुख बनाउँदैछ ।

‘कुनै दिन सभामुखको कुर्चिमा बसौंला वा संसद बनौंला भन्ने सोचिएन,’ नेत्रनाथले भने, ‘तर, समाज र देश परिवर्तनका लागि लडेकै हो । त्यही राजनीतिक परिवर्तनपछि बनेको संविधानको खाकाले आज मलाई यो ठाउँमा ल्याइपुर्‍यायो ।’

०३८ सालमै तत्कालीन नेकपा चौथो महाधिवेशनमा आवद्ध भएर राजनीतिक यात्रा थालेका नेत्रनाथले विभिन्न कम्युनिस्ट आन्दोलनको अगुवाइ गरेका छन् ।

‘म जुन दिन कम्युनिस्ट पार्टीको सदस्य भएँ । मार्क्सवादी, माओ, लेनिनका जीवनीदेखि कम्युनिस्ट किताब पढें,’ नेत्रनाथ भन्छन्, ‘ती किताबहरुले मलाई प्रभावित बनाउँथ्यो ।’

गाउँकै स्थानीय माविमा पढाउँदा गर्दा पनि उनले समानता र राजनीतिक अधिकारका कुरा गर्थे । यो व्यवस्था नै परिवर्तन नगरी जनताको स्तर परिवर्तन हुँदैन भन्ने अधिकारीलाई शिक्षक आन्दोलनमा लागेको आरोप लगाउँदै अस्थायी शिक्षण पेशाबाटै ०४१ सालमा बर्खास्त गरिएको थियो । उनले सो विद्यालयमा १८ महिना बेतलबी पढाए ।

पञ्चायती व्यवस्थाले उनलाई जेल पुर्‍यायो । यातना दियो । उनलाई झन् राजनीतितर्फ मोह जाग्दै गयो । ०४५ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै ०४८ सालमा नेकपा मशालको म्याग्दी जिल्ला सेक्रेटरीको जिम्मेवारी उनको काँधमा आइपर्‍यो ।
०५० को दशकमा उनी नेकपा एकताकेन्द्रको पर्वत, वागलुङ, स्याङ्जा, ईञ्चार्ज र सेक्रेटरी भएर काम गरे । ०५२ सालमा माओवादीले सशत्र सशत्र संघर्ष थालेपछि उनी त्यसैमा होमिए ।

‘भूमिगत जीवनमा थुप्रै ठाउँमा मृत्युको खडि्कलो पार गरियो र थुप्रै पटक परिवार तथा समाजले दुख पायो, कति थुप्रै सँगै हिँडेका साथी शहिद भए,’ नेत्रनाथ ती सम्झँदै भन्छन्, ‘ती हिजो देखेका सपना र गरेका वाचा कति अझै पूरा गर्नुपर्ने छ ।’

०५७ देखि ५९ सम्म उनी नेकपा माओवादीको कास्की जिल्ला सेक्रेटरी भएर काम गरे भने ०५९ देखि ०६० सम्म स्याङ्जा जिल्ला इन्चार्ज ।

०६१ देखि ६२ सम्म उनले पार्टीको मगरात राज्य कार्यालयमा सेक्रेटरी भई काम गरे । ०६५ देखि उनी आफ्नै गृहजिल्ला पर्वतको पार्टी ईन्चार्जको भूमिकामा छन् । अधिकारी हाल नेकपा माओवादी केन्द्र पर्वतको पार्टी इञ्चार्जसहित पार्टीको पोलिटब्युरो सदस्यसमेत हुन् ।

‘सँगै क्रान्तिमा हिँडेका तत्कालीन पोलिटब्युरो सदस्य बासुको ज्यान गयो । छवि अधिकारी, कृष्ण गौतम, विजय ढकाल लगायत थुप्रै जनाले बलिदानी दिए,’ नेत्रनाथ भन्छन्, ‘म बाँच्नु भनेको ती शहिदले देखेको सपना पूरा गर्नु हो भन्ने कुरा झक्झकाइरहन्छ ।’
उनकै शब्दमा क्रान्तिमा सँगै हिँडेको साथीले ज्यान गुमाएर आएको गणतन्त्रले सत्तामा पुर्‍यायो र धेरैलाई नेता बनायो ।

०५० को दशकमा उनी नेकपा एकताकेन्द्रको पर्वत, वागलुङ, स्याङ्जा, ईञ्चार्ज र सेक्रेटरी भएर काम गरे । ०५२ सालमा माओवादीले सशत्र सशत्र संघर्ष थालेपछि उनी त्यसैमा होमिए

माओवादी सशत्र संघर्षले वर्गीय मुक्ति र समानता त आयो कि आएन ? उनी यसबारे खासै बोल्न चाहन्नन् । तर, जनतामा राजनीतिक चेत र अधिकारी भने आएको उनी गर्व साथ भन्छन् । ‘राजनीतिक अधिकार प्राप्त भएको छ । देशमा आएको संघीय गणतन्त्रले जनतासम्म सरकार पुर्‍याएको छ,’ नेत्रनाथ भन्छन्, ‘जनतासम्म पुगेको सरकारले अब समृद्धि र अधिकारको ढोका खोल्नै पर्ने जिम्मेवारी हाम्रो काँँधमा आएको छ ।’

अहिले प्राप्त राजनीतिक उपलब्धिसँगै हिजोका योगदान र शहिदको बलीदानीलाई सम्मान गर्नुपर्ने उनी बताउँछन् ।

उनकै भनाइमा माओवादी सशस्त्र संघर्षले देशमा गणतन्त्र जन्माएको हो । ‘शसस्त्र संघर्षले जनतामा राजनीतिक चेतनाको विगुल फुकेको थियो,’ उनी भन्छन्, ‘संघर्षपछि अब जनताको चेतना र अधिकारको प्राप्ति सरकारमा गएर गर्नुपर्छ भनेर माओवादी सरकारमा गएको थियो ।

०७० को दोस्रोे संविधानसभा निर्वाचनमा उनी पनि संसदको यात्रा तय गर्न माओवादीले उम्मेदवार बनायो, तर पर्वतको क्षेत्र नम्बर एकबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीसँग पराजित भए । तर, अहिले भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनले पर्वत प्रदेश सभा क बाट विजयी हुँदै उनी प्रदेश संसदको यात्रा तय गरे । संसदको यात्रा तयमात्रै गरेनन् उनी संसदकै अध्यक्षता गर्ने कुर्चिमा पुगेका छन् ।

संघीयताको सुरुको अभ्यास भएकाले आर्थिक भार थेग्नै सक्दैन, अब झन् कसरी विकास होला भन्ने सोच्नु गलत हो । नीति निर्माण हुँदै जान्छ, स्रोत र साधनको प्रयोग बढ्दै जान्छ, प्रदेश समृद्धिको बाटोमा हिँड्छ

नेकपा माओवादी केन्द्र ४ नम्बर प्रदेश संसदीय दलका नेता हरि चुमानको प्रस्ताव र एमालेका प्रदेश सांसद किरण गुरुङको समर्थनमा उनको ४ नम्बर प्रदेश सभाको सभामुखमा निर्विरोध भए । तर, सभामुखको निर्वाचन प्रक्रिया भने आज हुँदैछ भने भोलि सपथ लिँदैछन् ।
कुर्सीमा बस्नुअघि अधिकारीसँग प्रदेश ४ र सभामुखसँग हामीले ३ प्रश्न सोध्यौंः

राजनीतिक यात्राले प्रदेश सभामुखको कुर्सीर्मा बसाल्दैछ, अबको भूमिका कस्तो रहन्छ ?

नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेको संविधान, जसले तीन तहको सरकार निर्माणको ढोका खालेको छ । अब मेरो भूमिका यही संविधानले प्रदत्त गरेको अधिकारको पालना गर्दै काननु निर्माण गरेर जनतालाई समृद्धि र समाजवादको बाटोमा हिँडाउने मुख्य भूमिका रहन्छ । संसदमा रहेका दलहरुसँग सहकार्य गर्दै चाँडोभन्दा चाँडो कानुन निर्माण गर्ने वातावरण बनाउँदै जनतालाई अधिकार सम्पन्न गराउने जिम्मेवारी काँधमा आएको छ । यो उम्मेवारीको अनुभूति मैले गरेको छ ।

हिजो एउटा राजनीतिक दलको कार्यकर्ता वा नेता हुनुहुन्थ्यो अब प्रदेशकै अभिभावक बन्दै हुनुहुन्छ, जिम्मेवारी कसरी पूरा गर्नुहुन्छ ?

आजसम्म एउटा दलको झण्डामुनि रहेर काम गरेको हुँ । कुनै दलको नेता तथा कार्यकतै भएर काम गरें । अब सभामुख बनिसकेपछि आस्था एक ठाउँमा छ, तर दलभन्दा माथि रहेर निभाउनुपर्ने जिम्मेवारी छ ।

कानुनी राज्यको निर्माण गरेर समग्र जनतालाई प्रादेशिक अधिकारको महसुस गराउनुपर्ने अहिलेकेा अवश्यकता छ । स्वभाविक रुपमा जनतालाई समृद्धिको बाटोमा लैजान, जनताका आधारभूत आवश्यकता छन् ती पूरा गर्नुपर्ने छ । ४ नम्बर प्रदेशको कुरा गर्दा हामी सम्भावना नै सम्भावनाको खानीमा छौं ।

४ नम्बर प्रदेश भनेको यस्तो प्रदेश हो, जहाँ राजतन्त्रको उदय पनि यहीँबाट भयो र क्रान्तिको सुरुआत पनि यहीँबाट भयो । राणाहरुको उदय पनि यही प्रदेशबाट भएको छ र अब सातै प्रदेशमध्ये समृद्धिको उदय पनि यही प्रदेशबाट हुन्छ । समाजवाद उन्मुख समृद्धि कसरी प्राप्त गर्ने भन्ने योजनाका साथ हामी अगाडि बढ्नेछौं ।

संघीय सरकार सञ्चालनमा आर्थिक भार नै कसरी थेग्ने भन्ने प्रश्न उठिरहेको छ, यहाँले चाहिँ के देख्नुभएको छ ?

पहिलो कुरा त स्रोतलाई हामीले वैज्ञानिक ढंगबाट प्रयोग गर्ने खालको नीति निर्माण प्रदेश सरकारले गर्छ । पुँजी भनेको श्रम हो र यतिबेला श्रम पलायन भइरहेको छ । प्राकृतिक स्रोत, साधनको हिसाबले प्रदेश नम्बर ४ सबैभन्दा शक्तिशाली देखिन्छ । नदी र नदीले बनाएको फाँट, खनिज, पर्यटन, जलविद्युतको यहाँ अथाह सम्भावना छ । पहिले यहाँका समभावनालाई उजागर गर्ने गरी कानुन निर्माण गर्ने र कार्यान्वयनमा जाने हो ।

संघीयताको सुरुको अभ्यास भएकाले आर्थिक भार थेग्नै सक्दैन, अब झन् कसरी विकास होला भन्ने सोच्नु गलत हो । नीति निर्माण हुँदै जान्छ, स्रोत र साधनको प्रयोग बढ्दै जान्छ, प्रदेश समृद्धिको बाटोमा हिँड्छ । अहिले नै आत्तालिनु पर्ने अवस्था छैन । प्रदेशका कानुन बनाउनेदेखि कार्यान्वयन गर्नेसम्म मेरो सहजीकरण र अभिभावकत्व रहनेछ ।

Loading...
Related Posts
Don't miss it
Editors choice