• आइतबार ०१, पुष २०७५

नयाँ शक्ति र नेपाली कांग्रेसबीच गोरखाका दुवै क्षेत्रमा चुनावी तालमेल

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र नेतृत्वको वाम गठबन्धनबाट बाहिरिएको केही दिनमै नयाँशक्ति नेपालले सत्तारूढ दल नेपाली कांग्रेससँग चुनावी तालमेल गरेको छ।

डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी र नेपाली कांग्रेसबीच गोरखाका दुवै क्षेत्रमा चुनावी तालमेलको सहमति भएको हो । सहमति अनुसार गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिबाट बाबुराम लड्ने भएका छन् भने क्षेत्र नम्बर १ मा नयाँशक्तिले कांग्रेसका उम्मेदवारलार्इ सघाउने भएको छ ।

यी दुर्इ दलहरूबीच राजधानीमा भएको सहमति अनुसार गोरखामा प्रदेश सभामा पनि दुई दलबीच तालमेल हुने भएको छ।

नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले दिएको जानकारी अनुसार गोरखा २ को एउटा प्रदेशसभा सदस्यमा नयाँ शक्ति र एउटामा कांग्रेस उठ्ने सहमति भएको छ । त्यसैगरी गोरखा १ का दुबै प्रदेशसभा सदस्यका लागि नयाँ शक्ति नेपालले कांग्रेसलाई सघाउने टुंगो भएको छ ।

नेपाली कांग्रेसबाट संसदमा मूख्य सचेतक समेत रहिसकेका श्रेष्ठले प्रतिनिधिसभाका लागि चुनाव लड्ने तयारी गरेका छन् ।
वाम गठबन्धनका सदस्य बाबुरामलाई माओवादी केन्द्रले गोरखा २ बाट टिकट दिन अस्वीकार गरेपछि नयाँ शक्ति गठबन्धनबाट बाहिरिएको थियो ।

बाबुराम यसअघि भएका दुवै संविधानसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट अत्यधिक मतसहित निर्वाचित भएका थिए । गोरखा २ बाट प्रतिनिधिसभाका लागि नेता नारायणकाजी श्रेष्ठ प्रकाश एमाले-माओवादी गठबन्धनको साझा उम्मेदवार बन्दैछन् ।

Loading...
Related Posts
Don't miss it
Editors choice