• बिहीबार २९, कार्तिक २०७५

लोकेन्द्र विष्टको सनसनी खुलासा: ‘प्रचण्ड निवासमा ‘रअ’ र सिआइएका मान्छे टुप्पी नाघेर प्रवेश गर्छन्’ (अन्तरवार्ता)

प्रचण्डका वरीपरि बस्ने मान्छे महाप्रचण्ड भएपछि प्रचण्डलाई समस्या परेको हो । त्यो कुरा मिलाउने प्रचण्डले नै हो ।  चर्को सुरक्षा घेरामा भित्र रहने संसद भित्रै ‘बन्दुक’ बोकेर प्रवेश गर्ने एकमात्र सांसद थिए तत्कालिन माओवादी नेता लोकेन्द्र विष्ट मगर । २०३६ सालबाट विद्यार्थी जीवनबाट राजनीतिक यात्रा थालेका विष्टले ४० वर्ष कम्युनिस्ट राजनीतिमा विताए ।

जनयुद्धकालमा आधार इलाका निर्माण गर्दा उनको भूमिका निकै महत्वपूर्ण थियो । माओवादी नेताहरु मध्ये सबैभन्दा लामो समय जेल जीवन विताएका विष्ट भारतमा पक्राउ परेका थिए । रुकुमको गणेश शाह हत्या अभियोगमा उनलाई १० वर्ष जेल हालिएको थियो । जनयुद्धकालमा विष्ट ‘अभ्यास’ उपमानले चिनिन्थे ।

राजनीतिसँगै कालो धानको खेतिपाती गरेका विष्टले यतिबेला भने राजनीतिबाट सन्यास लिने र स्वतन्त्र भएको घोषणा गरका छन् । माओवादी पार्टी परित्याग र आफूले झेलेको दुव्र्यबहार बारे खुलेर कुराकानी गरेका छन् ।
प्रस्तुत छ उनीसँग गरिएको अन्तर्वार्ताको सम्पादित अंश :

माओवादी केन्द्र परित्याग गर्नुभएको हो ?
मैले पार्टीको केन्द्रीय कार्यालय सदस्य, केन्द्रीय उत्पादन विभाग, पर्यटन विभागको इन्चार्ज र पार्टी सदस्यबाटै राजीनामा दिएँ । अहिले सर्वसाधारण र शुभचिन्तक मात्रै हुँ । स्वतन्त्र छु । समर्थक शुभचिन्तक कसको हुने त्यो कुरा सोच्नुपर्छ । म कसैको लगाममा छैन । हिजो पार्टी सदस्य लिनेबेला पनि स्वतन्त्र थिएँ । पार्टी सदस्य लिएर ४० वर्ष काम गरेँ । अब कता लाग्ने वा नलाग्ने ‘सेल्फ डिसिजन’को कुरा हो ।

माओवादी नेतृत्व या पार्टीसँग तपाईं के–कस्ता विमतिहरु छन् ?
नेतृत्वबाट २१ बुँदे कार्यान्वयनमा तत्परता देखिएन । पार्टी नेतृत्व सिंगो संगठनलाई सेटमा चलाएमान गराउने भन्दा पनि आफू र अंशमा मात्रै रमाउने काम भयो । नेतृत्व तहबाटै बेला बखत चित्त नबुझे निस्किएर गए हुन्छ भनेर धम्काउने काम भयो ।

पार्टी टुक्रा–टुक्रा भएर गएको छ तर त्यसको जवाफदेही आफू हुनुभन्दा अरुलाई मात्रै दोषी करार गरियो । कम्युनिस्ट पार्टी संस्थागत र सामुहिक हुनुपर्ने हो तर, हाम्रो नेतृत्वले त्यो होइन निजी कम्पनी र नितान्त व्यक्तिगत चिन्तन सोँचमा चलाउनु भयो । पार्टीका सबै कामहरुमा आफू मात्रै दल्लिने तर अरुलाई काम गर्ने अवसर दिइएन ।

यतिसम्मकी एकदम झिना मसिना काममा पनि आफू मात्रै दल्लिने तर अरुलाई कुनै अवसरै नदिने अवस्था आयो । पार्टी अध्यक्ष हाम्रो नेता हो तर राष्ट्रिय प्राधिकरपूर्ण नेता हुने नाममा पार्टी संगठनको कमाण्ड छाडिदिनु भयो ।

लचकताको नाममा चरम उदारतावाद र स्खलन तिर जानु भयो । विविध दबाव, प्रभावमा काम गर्ने बानी पर्न थाल्यो । नेतृत्वमा आवश्यकता भन्दा बढी नै अदृश्यता मात्रै होइन विविध अपारदर्शिता हावी भयो । ढाँट छलको मात्राले छलाङ मार्दै गयो । साम, दाम दण्ड भेदले अपार मल जल र बल पाउन थाल्यो ।

लाजिम्पाटमा इमान्दार नेताहरु बाहिर लाइन लाग्नुपर्छ । कतिपय धनाड्य, सिआईए, रअका मान्छे आउँछन् । हाम्रो टुप्पी नाघेर गइहाल्छन् । हामी त लाइन लागेको लाग्यै । अरु पार्टीका कुनै नेता कार्यकर्ता ‘त्रिपल जम्प’ हानेर भित्र पस्छन् । प्रचण्ड कमरेडको भान्सामै जान्छन । हामी बलेनीमै रुझेर हैरान ।म अध्यक्षको कार्यालय सदस्य हुँ । प्रचण्डलाई भेट्न जाँदा प्रचण्ड पुत्रले नै बाटो छेकेर ‘तँ तल जा..भन्ने ?

नविनता र सिर्जनशिलताको नाममा चरम स्खलन र विचलनको बाटोमा नेतृत्व हिँड्न थाल्यो । जनयुद्धका घाइते, अपाङ्ग बेपत्ता परिवारलाई बेवास्ता गर्न थालियो । पुराना नेता कार्यकर्तामाथि बेपर्वाह पक्षपात गर्दै सिमै नाघेर न्यूनिकरण गर्न थालियो । कयौँ राम्रा र असल नेता/कार्यकर्तालाई गल्हत्याएर निकाल्न थालियो ।

गलत चिन्तन र प्रवृत्ति शैलीलाई प्रमोशन र प्रोत्साहन गर्दै जान थालियो । मुल रुपमा माझधारमै छाडेर नेतृत्व अन्तै रुमलियो, भड्कियो र अदृष्य शक्तिको सिकार भयो । यसकारण यो पार्टीमा बसिरहन मन लागेन ।

४० वर्षे राजनीतिक जीवन बिताएको तपाईंलाई माओवादी पार्टीबाट कसरी वितृष्णा श्रृजना भयो ?
वितृष्णा होइन, केही कुरा छन् । म अझै आठ–दश वर्ष काम गर्न सक्छु । राजनीति आजीवनको अनिवार्य पेसा होइन । यो ऊर्जाशील उमेरमा गर्नुपर्छ । ऊर्जाशील समय राजनीतिलाई दिएँ । यसमा मेरो कुनै गुनासो छैन । कसैले गुन मानोस् या नमानोस्, बूढो–पुरानो पंक्ति सधैँ रहिरहने र पछि लाइन लागेर उनीहरू पनि बूढा हुने प्रथा बेठीक छ ।

नयाँ पंक्ति राजनीतिमा आउनुपर्छ देश र जनताको भाविष्य बनाउन हामीले भन्दा राम्रो गर्नुपर्छ । केही गर्ने नसक्ने भएपछि भन्दा अलिकति चल्दोफिर्दो उमेरमै राजनीतिबाट अवकाश लिनुपर्छ । यो संस्कारको कुरा पनि हो । त्यसपछि जीवनका बाँकी आयामहरू पूरा गर्न सकिन्छ । हाम्रो नेताहरूले अन्तिम उमेरसम्म पनि राजनीति गर्नुभएको छ । प्रचण्ड कमरेड ६३ वर्ष हुनुभयो ।

उहाँ बेस्सरी काम गर्नुहुन्छ । प्रचण्ड र म विष्ट एउटै हुने कुरा भएन । उहाँ बाहुनको छोरो ऊर्जावान्, यो मगरको छोरो नसक्ने कुरा भयो । उरुग्वेको राष्ट्रपतिले आफूले पाउने तलबको ९० प्रतिशत जनतालाई दिन्छन् ।

१० प्रतिशतले उनीहरूले जीवन गुजारा गर्छन् । झुपडीमा बस्छन् । अमेरिकाको राष्ट्रपतिमा सबैभन्दा कम उमेरमा काला जातिबाट बाराक ओबामा आए । दुई कार्यकाल खाए । उनले संसारलाई एउटा ढंगले तरंग दिए र गए । उनी राष्ट्रपतिमा आउनुपहिले पनि एउटा कम्पनीमा काम गर्दारहेछन् । राष्ट्रपति छोड्ने बित्तिकै उनी सोही कम्पनीमा काम गर्न गए । म यो कुरालाई सलाम गर्छु ।

म उहाँको विचार नमानुला तर, त्यही सोच हुनुपर्छ । हामी कम्युनिस्ट, अग्रगामी भन्ने तर पश्चगामी सोच राख्छौँ । गरिब देशको ढुकुटी रित्याउने गरी सेवा–सुविधा बढाउने, आफ्नो घर छ सम्पत्ति छ तर राष्ट्रको सम्पत्ति दोहन गर्ने कुरामा म घोर आपत्ति जनाउँछु । सुरक्षा भनेको जनतासँग हुन्छ । आफ्नो प्राण–पाखुरा रहुन्जेल हात–पाखुरा चलाएर खानुपर्छ । मरेर लाने के छ र ?

माओवादीको नेतृत्व तह राष्ट्रिय ढुकुटीमा रमाइरहेको छ । तर, तपाईं भने कालो धानको खेतीमा लाग्नुभएको छ । तपाईंको कामलाई लिएर माथिल्लो नेतृत्वले के भन्छ ?
हाम्रा नेता, कार्यकर्ता न आफू केही गर्न सक्छन्, न अरुलाई गर्न दिन्छन् । यो लोकेन्द्र विष्टले कालो धानको खेती गर्दा ‘कालो धन’को खेती गर्नेहरूले कालो धनकै खेती ग¥यो भन्ने देख्छन् । म बाँच्नका लागि कालो धानको खेती गरेको हुँ । पैसा कमाउन र थुपार्नका लागि होइन ।

माओवादीको नेतृत्वमा कालो धनको खेती गर्नेहरू छन् भन्नुभयो, को–को हुन् ?

‘कालो धन’को खेती गर्नेहरू धेरै छन् । म कालो धानको खेती गर्छु । कालो धनको खेती गर्नेहरूले कालो धानको खेतीलाई कालो धनको खेती पनि भने । खिसिट्युरी गरे । म ती दिमागी गरिबलाई भन्छु, ‘तिमी गरिब नहोऊ, तिमीहरू माओवादी नेता कार्यकर्ता भएपनि अलिकति श्रम गर । दुःख गर । दुनियाँको अबगालबाट बँच । स्वावलम्बी बन । आफ्नो खुट्टामा उभिऊ ।’

यही कुरा हाम्रो नेतृत्व पंक्तिले दिनसक्यो भने पछिको कार्यकर्ताले पनि राम्रो गर्थे ।प्रचण्ड कमरेडले नराम्रो काम गर्नुभयो त म भन्दिनँ । कमसकेम प्रचण्ड र उहाँको वरिपरि भएका हामीले श्रमसँग जोडिनुपर्छ । प्रचण्डले श्रम गर्नुभएन भन्ने होइन ।

बेस्सरी खट्नुभएको छ । तर, श्रम उत्पादनसँग जोडिने भनेको जनतासँग जोडिने हो । उहाँ जनतासँग हुनुहुन्छ तर, माथिल्लो तहमा मात्रै । उहाँसँग बीचमा जोड्ने कडी टुटेको छ । ‘क्रिमी’ तह बीचमा बसेर माथि र तल दुवैतिर शोषण गरिरहेको छ । त्यो तहले माथि नेताहरूबाट मागेर खान्छ तल कार्यकर्ताबाट पनि मागेरै खान्छ । क्रिमी ‘लियर’ हटाउनुपर्छ ।

यो ‘क्रिमी लियर’को तहमा कुन–कुन नेतृत्व छन् ?
‘क्रिमी लियर’मा केन्द्रीय समिति स्वतः भयो । व्यक्तिगत हिसाबले भन्दा सबै त्यस्ता हुँदैनन् । केन्द्रीय समितिमा रहेका धेरै साथी पीडित छन् । कतिपय त गाउँ/नगर र जिल्लाका कार्यकर्ताभन्दा गरिब छन् । तिनको झोला छैन । खुट्टामा चप्पल छैन । झोला च्यातिएको हुन्छ र घरमा खाने कुरा हुँदैन । ‘हरितन्नम’ ‘सिसिएम’ पनि छन् । कतिपय तलका पनि धनाढ्य छन् । माथिका त हुने भइहाले । एउटै भन्ने छैन । हामी थोरै समय भए पनि नेतृत्व र सरकारमा बसेकाप्रति मान्छेहरूको हेराई हुन्छ, ‘हिजोको मन्त्री हो ।

हिजोको सांसद हो । हिजोको नेता हो ।’ एउटाले साधारण जनताको तहमा यिनीहरू कहिले आउलान भनेर हेर्छ । अर्कोले यिनीहरू जुन ठाउँमा छन्, त्यो नै राम्रो ठाउँ हो भनेर हेर्छ । जस्तो अहिले प्रचण्ड र केपी ओली ‘हाइँहुइँ’ गरेर वरिपरी मेसिन–गन लिएर हिँड्छन् । सुरक्षाको पाटो गम्भीर हो, नेताहरूलाई सुरक्षा चाहिन्छ । त्योबीचमा अरुका कुरा छोड्नुस्, हामीले पनि भेट्घाट पाउँदैनौँ ।

लाजिम्पाटमा इमानदार नेताहरू बाहिर लाइन लाग्नुपर्छ । कतिपय धनाढ्य, सिआइए, रअ का मान्छे आउँछन्, हाम्रो टुपी नाघेर गइहाल्छन् । हामी त लाइन लागेको लाग्यै । अरु पार्टीका कुनै नेता, कार्यकर्ता ‘त्रिपल जम्प’ हानेर भित्र पस्छन् र प्रचण्ड कमरेडको भान्सामै जान्छन् । हामी बलेनीमै रुझेर हैरान हुनुपर्छ । यस्तो खालको भएपछि हामीले त्यसलाई कसरी ‘कट अफ’ गर्ने होला ।

साधारण जनता, कार्यकर्ता, सहिद बेपत्ता, र नेताको पंक्तिलाई भेट्नुपर्छ । उनीहरूको फोन उठाउनुपर्छ । फोनै नउठाइदिने, भेट्नै नदिने अवस्था छ । कतिपय मान्छेहरू कमरेड प्रचण्डलाई भेट्नै नपाएर अर्को पार्टीमा प्रवेश गरे । कतिपय मान्छे राम्रो व्यवहार भएका कारण एमालेमा गएका छन् । उनीहरु केपी ओलीको भेटघाट अलि रसिक हुन्छ भन्दा रहेछन् ।

४० वर्षको राजनीतिक जीवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लामो संगत गर्नुभयो । तर, तपाईं प्रचण्डलाई भेट्न जाँदा तपाईंलाई पर्खाइन्छ र त्योभन्दा पहिले रअ र सिआइएको मान्छे प्रवेश गर्छन् । तपाईंले बुझेको प्रचण्ड के हुन् ?
म उहाँलाई दुई–तीनवटा कोणबाट हेर्छु । मैले बुझेको प्रचण्डले भेटघाट मिलाउनुपर्छ । हामीलाई जे गरियो, ठीक छ । त्यो भइसक्यो, अब आउँदैन । सायद फोन राम्रो उठाउने बोल्ने गरेको भए मैले यति छिट्टै सोच्नुपर्ने थिएन । न उहाँले फोन रिसिभ गर्नुभयो, न त उहाँको स्वकीयले नै । न त्यहाँ गएका बेला राम्रो व्यवहार नै गरियो । त्यसले मलाई ठाउँमै हान्यो ।

यो कुरा गर्दा व्यक्तिगत जस्तो हुन्छ । उहाँको स्वकीय सचिवालय व्यवस्थित होस् भन्ने हाम्रो आकांक्षा छ । उहाँको स्वकीय सचिवालयमा चार–पाँचजना मान्छे सधैँ हुन्छन् । तर, मुख्य को हो, सहायक को हो ?

कहिल्यै नछुटिने अवस्था छ । छोरा प्रकाशबाट धेरै मान्छे पीडित छन् । उनले गर्ने व्यवहार राम्रो छैन । अरुको पनि गुनासा छन् । फोन उठ्दैन । त्यहाँ गएका मान्छेलाई रेस्पोन्स हुँदैन । प्रचण्ड हाम्रो नेता हो तर, प्रकाश नेता होइन कार्यकर्ता हो । प्रचण्डको छोरो त हो तर, पार्टीको कोणबाट हेर्दा कार्यकर्ता हो । प्रकाशले त्यहाँ जाने मान्छेलाई जो ‘बिहेब’ गर्छन्, त्यसले प्रचण्डलाई असर गर्छ । पार्टीलाई असर गर्छ ।

प्रचण्डपुत्रले तपाईंहरू जस्ता जिम्मेवार नेतामाथि अभद्र व्यवहार गरेको कुनै घटना छ ?
त्यस्ता घटना कति छन् कति । उनी बाबुका कारण पनि होला अलिकति घमण्डी छन् । चर्को बोल्छन् । एउटा घटना छ– प्रचण्ड प्रधानमन्त्री भएका उनलाई भेट्न मैले प्रकाशलाई फोन गरेँ, उठेन । सीधै बालुवाटार भेट्न गएँ । प्रकाश आएनन् । भेटघाट दिनेजस्तो अवस्था भएन । म आफैँ अध्यक्षलाई भेट्न कस्सिएँ र, अघि बढेँ । प्रकाशले थाहा पाएछन् । र बीच बाटोमै बाटो छेक्न आए । मैले भने, ‘म अध्यक्षलाई भेट्न जान आएको हुँ ।’ चर्को स्वरमा उनले भने, ‘तपाईं तल गएर बस्नुस् । नसोधेरै आउने, फोन नगरी आउने ?’ मैले भने, ‘कसलाई सोधेर आउने ? फोन गर्दा फोन उठ्छ र तिम्रो ?’ म अध्यक्षको कार्यालय सदस्य हुँ ।

अध्यक्षलाई भेट्न जाँदा प्रचण्डपुत्रले नै बाटो छेकेर ‘तँ तल जा…’ भनेपछि कुकुरले पनि त्यस्तो खालको व्यवहार भोग्दैन । कि हामीलाई पार्टीबाट निष्काशित गरिदिनुप¥यो । म त प्रचण्ड भेट्न गएको हुँ । सुसाइडर वा आत्मघाती दस्ता बनेर म प्रचण्डलाई सिध्याउन गएको त होइन नि ?

यो विषयमा कार्यालय बैठकमा सबैले आलोचना गरे । मैले भने, ‘कमरेड अध्यक्ष, हामी तपाईंलाई समस्या बन्न आउँदैनौँ । समस्या सेयर गर्न आइन्छ । तपाईंको समस्या हल गर्ने गरी आइन्छ । यदि हामी आउँदा सेयर गर्ने कुरालाई पनि समस्या मान्नुहुन्छ भने अब आइँदैन ।’ त्यसपछि म कहिल्यै गइनँ । झन्डै नौ महिना भयो, म प्रचण्डलाई भेट्न गएको छैन । मैले अपेक्षा नगरेको कुरा उहाँको छोराबाट भयो । उहाँको छोराले नराम्रो गरेपछि मलाई जान मन लागेन । त्यसले मलाई दुःख लाग्यो ।

त्यसको दोष म तलको मान्छेलाई होइन, अध्यक्षलाई दिन्छु । अध्यक्षले मिलाउनुपथ्र्यो । उहाँले जोसुकै सहयोगी राखेहुन्छ तर, त्यसले पार्टीलाई र उहाँलाई सजिलो गर्नुपर्छ । उहाँको सचिवालयमा भएका मान्छे प्रचण्ड होइनन्, प्रचण्डका सहयोगी हुन् । तर, उनी महाप्रचण्ड हुनु हुँदैन । प्रचण्डका वरिपरि बस्ने मान्छे महाप्रचण्ड भएपछि प्रचण्डलाई समस्या परेको हो । त्यो कुरा मिलाउने प्रचण्डले नै हो । म गरेर खाने मान्छे हुँ । पछि म खेतीपाती गर्न लागेँ ।

यत्ति ठूलो जनयुद्धको नेतृत्व गरेर आएको कमान्डर प्रचण्ड किन पारिवारिक घेरामा रमाउँदै छन्, तपाईंलाई के लाग्छ ?
उहाँ घेराबन्दीमा हुनुहुन्छ । पहिलो घेरा परिवारको हो । दोस्रो घेरा पार्टीका दलाली, गुलामी, चाटुकारी र चुकुली गर्नेको छ । तेस्रो अलिकति लोभी–पापी उद्योगपति, ठेकदारको घेरा, जसले प्रचण्डलाई पट्याएर फाइदा लिन खोज्छ । अर्को घेरा भनेको ‘रअ’ (भारतीय जासुसी संस्था रिसर्च एन्ड एनालाइसिस विङ), सिआइए (अमेरिकी जासुसी संस्था) लगायत अन्तर्राष्ट्रिय समुदायको छ । र, अन्तिम घेरा प्रचण्डलाई कसरी गुल्ट्याउने होला भनेर लागिरहेको छ ।

त्यो घेरालाई क्रस गर्न उहाँले पनि घेरा बनाउनुपथ्र्यो– आफ्ना नजिकका सहयोद्धा कमरेडको पहिलो घेरा, सहयोगी र शुभचिन्तकको दोस्रो घेरा, आफूलाई सहयोग र समर्थन गर्ने अन्तर्राष्ट्रिय निकायको तेस्रो घेरा, जनसाधारण जो सहिद चौथो घेरा, अनि घाइते र अपांग आदिको घेरा, जसलाई समय–समयमा भेट्नुपर्छ । सबै जिल्लाका सहिद परिवार र घाइतेलाई ठूलो हलमा बोलाएर भेट्ने र कुराकानी गर्ने गर्नुपथ्र्यो । यसरी माओत्सेतुङले भेट्थे । हामीले सल्लाह पनि दियौँ । तर, त्यो सुनुवाई भएन ।

भेटघाटलाई चुस्त बनाएको भए धेरै राम्रो हुन्थ्यो । अझै पनि राम्रो हुन्छ । उहाँले सहिद घाइतेहरूलाई भेट्नुपर्छ, सल्लाह–सुझाव र रिपोर्ट लिनुपर्छ । हामीसँग केही समय सल्लाह सुझाव लिनुभयो तर पछि बिर्सनुभयो । अब अरुलाई नबिर्सिदिए राम्रो होला । व्यक्तिगत हिसाबले धेरै घोचपेच नगरुँ । म उहाँलाई सम्मान गर्छु । उहाँ राम्रो नेता पनि हो । तर, पछिल्लोपटक धेरै कुरा बिर्सिंदै जानुभयो ।

प्रचण्डलाई कस्तो घेराले अत्याधिक प्रभाव पारेको छ ?
उहाँलाई तीनथरी कुराले प्रभाव पार्छ । पार्टीभित्रका चुकुली, चाप्लुसी, चाटुकारी गर्न आउने, दलाली–गुलामी गर्न आउने, जो उहाँको गल्ती–कमी–कमजोरीलाई पनि राम्रो भनिदिने गर्छन्, उनीहरूले प्रचण्डलाई ‘देउतासरह मान्छे’ भन्छन् । अर्को असाध्यै घुर्की धम्की लगाउने समूह छ । जो समूहमै मेला लगाउने र ‘यसो गरेनौ भने…’ भन्दै धम्की दिन्छ । दादागिरी गर्छ । टेबुल ठटाएर फाइदा लिने समूहको घेरामा हुनुहुन्छ ।अर्को चाहिँ बिहान, दिउँसो, र बुलुका सधैँ त्यही बसेर दलिरहने समूह छ ।

एकपटक उहाँले आजित भएर एक जनालाई भन्नुभयो, ‘तपाईं त साह्रै भयो यतै ओछ्यान ल्याएर बस्नुस्.. ।’ त्यस्ता कुराबाट अलग रहनका लागि उहाँले टिम बनाउनुपर्छ ।तीन नेताको स्वकीय सचिवालयको कुरा गर्दा अध्यक्ष प्रचण्डको सधैँ ‘ल्याङ्फ्याङ’ नै भयो ।

असाध्यै अव्यवस्थित भयो । प्रचण्डको सचिवालयमा जतिसुकै ठूला मान्छे गए पनि तिनको काम फोन उठाउने मात्रै हो, तर सबैको फोन उठाइँदैन । जो आए पनि प्रचण्डको स्वकीय सचिव कहिल्यै राम्रो भएन । सायद अब हुँदैन । दोस्रो सचिवालय सबैभन्दा राम्रो बाबुरामको हो । बाबुरामको विश्वदीप पाण्डेले एक्लै असाध्यै राम्रो स्वकीय सचिवालय चलाए । म त्यो केटोको सचिवालय चलाउने तरिका मनपराउँछु । सबैले मनपराएका छन् । तेस्रो सचिवालय नारायणकाजीको छ । त्यहाँ सुशन कर्माचार्य भन्ने हुनुहुन्छ । उहाँ महिला हो तर, निकै राम्रो सचिवालय चलाउनुभएको छ ।

अन्य के–के कारण छन्, जसले तपाईं पार्टी छोड्ने अवस्थामा पुग्नुभयो ?
पछिल्लो समय ठोस जिम्मेवारी भएन । अह्रनखटन र निर्देशन आदि पनि भएन । रिपोर्ट लिने निर्देशन दिने र भेटघाट पनि भएन । म मात्रै होइन धेरै साथी पीडित छन् । प्रकाश दाहाल लगायत स्वकीय सचिवालयको रुखो, खरो, ठाडै धक्याउने खालको नराम्रो व्यवहारका कारण ७५ प्रतिशतभन्दा बढी मान्छे चिढिएका छन् । त्यस्तो व्यवहार नगरिदिए हुने हो । प्रचण्डका लागि मात्रै होइन ।

उनकै लागि पनि राम्रो हुँदैन । भोलि राजनीति गर्छन् वा गर्दैनन् त्यो उनको कुरा हो । उनले आफूलाई शालीन व्यक्तित्व बनाइदिए पनि त हुन्थ्यो । त्यस्तो चर्को, बर्को, रूखो, खरो र ठाडै मान्छेलाई हप्की–दप्की गर्ने व्यवहार ठीक भएन । मलाई नै त्यसो गर्नेले अरुलाई के गर्लान् । म त अंकल हुँ । उनको र मेरो उमेर आधा फरक छ ।

अर्को कुरा अहिले पार्टीभित्र जुन खालको रुप–रबैया छ । यो बदल्न सकिएन, या सच्याउन सकिएन भने प्रचण्ड कमरेडको भाषामा त पार्टी एक नम्बर बन्दै जान्छ । तर, कार्यकर्ता र जनताको नजरमा यो पार्टी अन्तिमको एक नम्बर हुँदै जान्छ । किनभने यो ठीक होइन । राम्रो हुनका लागि सबै कार्यकर्ताको हिसाब नेतृत्वले राखोस् । मेरो वा म लगायत थुप्रै मान्छेको हिसाब नराखे पनि अब राखियोस् । स्वकीय सचिवालयलाई राम्रो बनाओस् । जिम्मेवारी ठोस बनाओस् । तहबद्ध ढंगले उनीहरूबाट रिपोर्ट बुझ्ने मूल्यांकन गर्ने गर्नुपर्छ ।

ठोस जिम्मेवारी दियो भने फर्कनुहुन्छ पार्टीमा ?
म अब फर्कन्न । अब मेरो काम गर्ने पुग्यो । मैले अझै पाँच सात वर्ष गरिएला भन्ने सोचेको थिएँ । तर, यहाँ त्यस्तो भएन । मेरो मात्रै के कुरा धेरै साथीहरू त्यत्तिकै घाम तापेर बसेका छन् । यो चुनावमा कुनै ठोस जिम्मेवारी भएन । हामीले जिम्मेवारी माग्यौँ । मलाई विभाग मात्रै थियो भूगोल थिएन ।

मजदुर संगठनको १२ वर्षदेखि राष्ट्रिय सम्मेलन नभएर थन्किएको थियो । कुनै समय बाबुरामजी, नेत्रविक्रम चन्द, सुरेश सिंह लगायत सबैले जिम्मा लिनु भयो तर त्यो समयदेखि राष्ट्रिय सम्मेलन हुन सकेको थिएन । तर, मैले गरें । म कामले बाहिर गएको थिएँ त्यहिबेला मलाई मजदुरको इन्चार्जसिपबाट हटाएछन् । र अर्कै साथीलाई बनाएछन् । काम मैले गर्ने र भएका जिम्मेवारीबाट पनि हटाइदिने ? एउटा जनवर्गीय संगठन त मलाई दिनुपर्यो नि ।

जिल्ला वा निर्वाचन क्षेत्र जहाँ भए नि खटिन्थेँ । मलाई नखटाउने अध्यक्षले केही पनि नभन्ने र तलका प्रकाश लगायत मान्छेले ‘यसो गर र उसो गर’ भन्ने । उनी मेरो नेता हुन् र मैले उनले भनेको मान्ने ? त्यस्तो कुरा बेठीक हो ।

अब के गर्नुहुन्छ ?
राजनीतिलाई ठीक ढंगले बुझियो भने राजनीति आजीवनको अनिवार्य पेसा होइन । राजनीतिमा लाभ छ, कमाउने धन्दा हो, त्यहाँ एकपटक बसेपछि बसेको बस्यै गर्नुपर्छ, आफ्नो सहयोद्धालाई पनि दिनुहुन्न भन्ने तरिकाले पार्टी सत्ता र सरकारी सत्ता दुवै हसुर्छन् भने म त्यसलाई बेस्सरी भण्डाफोर गर्छु । मैले धेरै ठाउँ छाडेको छु । पार्टीले मलाई मूल्यांकन गरेकै हो । दुईपटक सदन खाएँ । दुईपटक मन्त्री भएँ । तर दुईपटक जोड्दाखेरी सात महिना पनि पुग्दैन । स्वास्थ्यमन्त्री जम्मा १३ दिन मात्रै भएको हो ।

बाबुरामजीको पालामा ६ महिना पर्यटनमन्त्री भएँ । अघिल्लो दिन पर्यटनमन्त्री भएर सुतियो, बिहान उठ्ने बेला त गइसकेछ । पहिलो संविधानसभाभित्र राज्य पुनर्संरचना समितिको सभापति भएर काम गरेँ । मेरो प्रतिवेदन अहिलेको संघीयतामा कति समेटिएको छ, मलाई त्यति थाहा छैन ।

अहिलेको संघीयता र हामीले कोरेको खाका मिल्दैन । राजनीति भनेको स्वयंसेवा हो । निस्वार्थ हुनुपर्छ । राजनीति अस्थायी हुन्छ । तर, आजीवनको हुँदैन । राजनीति गर्नेहरूले कुनै न कुनै पेसा अपनाउनुपर्छ । किनभने उनीहरू बाँच्नुपर्छ ।

त्यो ‘इलिगल’ होइन ‘लिगल’ जनता र श्रमसँग जोडिएको हुनुपर्छ । मैले यो पार्टीभित्र ४० वर्ष बिताएँ । २३ वर्ष केन्द्रीय समितिमा बसेँ । विद्यार्थी संगठनबाट राजनीतिमा लागेको मान्छे हुँ ।

म अहिले ५४ वर्षमा रनिङ छु । नेपालीको सरदर आयु भनेको ७० वर्ष हो । म अब बाँच्ने १६ देखि १७ वर्ष मात्रै हो । यो समयमा पनि म यही राजनीति गर्ने यसलाई अलिकति पनि ‘वरपर’ नगर्ने र यहीँ जागिर खाने, यहीँ खुरी खेल्ने छुत्ती खेल्ने होइन । मलाई जसरी भए पनि पैसा चाहियो । चन्दा उठाउन जाने, दुनियाँ गर्ने भन्ने कुरा मबाट हुँदैन । त्यो मैले हिजो पनि गरिनँ । अहिले पनि गरिरहेको छैन । अहिले के सोचेको छु भने अब म राजनीति छाडेँ । पार्टीलाई र अध्यक्षलाई धन्यवाद दिँदै राजीनामा पत्र बुझाइसकेँ । भर्खर अस्ति साउनको ३२ गते बुझाएको हुँ । मैले पार्टी सदस्यबाटै राजीनामा दिएँ ।

अब म माओवादी पार्टीको समर्थक त हुन्छु तर नेता छैन । अब मैले नेपालमा हुने राम्रा कामको समर्थन गर्छु । नराम्रा कामको विरोध गर्छु । त्यो मेरो अधिकार हो । मलाई जेसुकै गरियोस्, मलाई केही मतलब भएन । हिजो पनि थोरै–थोरैले बचेर आएको हो । नाफाको जिन्दगी जिउँदै छु । अब मले आफू बाँच्नका लागि दुःखजिलो गर्नुपर्छ । गिटी कुटेर, चिया पकाएर वा भाँडा माझेर भए पनि बाँच्नैप¥यो । माग्न चोर्न, लुट्न जान भएन । त्यो कुरा अनैतिक हो ।

अन्त्यमा केही भन्नुहुन्छ ?
म आदर्णीय सहिद तथा बेपत्ता योद्धा परिवार र घाइते अपाङ्ग योद्धाहरु प्रति सदा सर्वदा विनम्र रही लालसलाम अर्पण गर्दछु । यो अन्तरवार्ता दियो पोष्टबाट साभार गरिएको हो ।

Loading...
Related Posts
Don't miss it
Editors choice