• आइतबार ०१, पुष २०७५

एमाले कार्यकर्तालाई झुठा मुद्दामा फसाउन थालिएको महासचिव पोखरेलको आरोप

काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेले निर्वाचनको पूर्वसन्ध्यामा सरकारले एमाले कार्यकर्ताहरुलाई झूठा मुद्दामा फसाउन प्रहरी प्रशासनको दुरुपयोग गरेको आरोप लगाएको छ ।

एमाले केन्द्रीय प्रचार बिभागले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले काभ्रपलान्चोक लगायत कतिपय जिल्लामा एमाले उम्मेदवारका परिवारका सदस्यलाई पक्राउ गरिएको बताए । उनले भने, ‘हामीले बिभिन्न जिल्लाबाट जानकारी पाइरहेका छौं, प्रहरीभित्रका केही मान्छे एमालेका कार्यकर्तालाई फसाउने, गिरफ्तार गर्नासाथ सार्वजनिक अपराधको मुद्दा लगाएर चुनावसम्म थुन्ने षडयन्त्रमा सामेल भइरहेका छन् ।’

प्रहरी प्रशासनको दुरुपयोग रोक्न एमालेले गृहसचिव र प्रहरी महानिरीक्षकलाई भेटेरै आग्रह गरिएको पोखरेलले बताए । सत्तापक्षले योजनाबद्ध रुपमा स्थानीय तहको निर्वाचनमा धाँधलीको प्रयास गरिरहेको उनको आरोप छ ।

म्यादी प्रहरीमा पनि योजनाबद्ध ढंगले निर्वाचन बिथोल्न मान्छेहरु घुसाइएको सूचना एमालेले पाएको र त्यसबारे सम्बद्ध ठाउँमा जानकारी समेत गराइएको एमाले महासचिव पोखरेलले बताए । चुनावको सुरक्षा व्यवस्थामा प्रश्न उठाउने ठाउँहरु देखिएको भन्दै उनले सरकार त्यसमा गम्भिर हुनुपर्ने बताए ।

एमालेले जेठ ३१ को दोस्रो चरणको निर्वाचन स्वीकार नगर्ने पनि प्रष्ट पारेको छ । पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सुरक्षा र निष्पक्षताको दृष्टिबाट एक महिनाको फरकमा दुई चरणको चुनाव सम्भव नहुने बताए ।

‘हामीले निर्वाचन आयोगलाई पनि भनेका छौं, पहिलो चरणको चुनाव र दोस्रो चरणको चुनावकेा फरक बढिमा एक साता हुनसक्छ । बरु दुवै चुनाव सारेर जेठ ८, १० गते गर्न सकिन्छ’ पोखरेलले भने, तर पहिलो चरणको चुनाव गरेर मत परिणाम सार्वजनिक गर्ने,बजेट ल्याउने अनि दोस्रो चरणको चुनावमा जाने कुरा कुनै हालतमा मान्य हँुदैन ।’

Loading...
Related Posts
Don't miss it
Editors choice