• बिहीबार २९, कार्तिक २०७५

अपडेट:सप्तरीमा गोली चल्दा मृत्यु हुनेको संख्या चार पुग्यो

राजविराज :  सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा एमालेले मेची काली यात्रा अन्तर्गत गरेको सभास्थल नजिकै मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपका क्रममा प्रहरीले चलाएको गोली लागी चार जनाको मृत्यु भएको छ।

प्रहरीको गोली लागि घाइते भएका ११ जना मध्ये ६ जनाको अवस्था गम्भीर थियो। पहिलोपोस्टका स्थानीय संवाददाताले दिएको जानकारी अनुसार ६ जनामध्ये ४ जनाको अवस्था अति गम्भीर थियो। राजविराजको सगरमाथा अञ्चल अस्पतालले गम्भीर घाइते ६ जनाको थप उपचारको लागि सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरेको थियो।

धरान लाने क्रममा घाइते दिगम्बर झा र धरान पुगिसकेपछि पिताम्बर मण्डल र आनन्द साहको मृत्यु भएको थियो।

कार्यक्रम सकिएर एमाले नेताहरु कञ्चनपुरतिर बास बस्न लागेपछि भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यस क्रममा गोली चलाउँदा महठा गाविस वडा नम्बर २ का  रन्जन मेहताको मृत्यु भएको हो। उनको टाउकोमा प्रहरीको गोली लागेको थियो।

कसरी भयो घटना ?

प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालका अनुसार कार्यक्रम सुरु हुनुअघिदेखि नै विरोध प्रदर्शन गरिरहेका मधेसी मोर्चाका कार्यकर्ताहरु कार्यक्रम स्थलमा प्रवेश गर्न खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो। उनका अनुसार प्रदर्शनकारीहरुमध्ये सात जनालाई गोली लागेको थियो। ‘तीमध्ये एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर र पाँच जना उपचाररत छन्,’ खनालले दावी गरे, ‘प्रहरीतर्फ २२ जना घाइते भएका छन्।’

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले गोली लागी एक जनाको मृत्यु र दुई जना घाइते भएको पुष्टि गरे। यसबारे थप जानकारी आउन बाँकी रहेको उनले बताए।

एमालेले शनिबारदेखि सुरु गरेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत आज सुनसरीको इनरुवामा सभा सकेर प्रदेश नम्बर २ प्रवेश गर्दै राजविराज पुगेको थियो। त्यहाँको औद्योगिक क्षेत्रमा सभा चलिरहँदा पनि सभास्थल वरपर मोर्चाका कार्यकर्ताले प्रदर्शन जारी राखेका थिए।

सभा सुरु हुनु अघि राजविराज–रुपनी सडक खण्डको औद्योगिक क्षेत्रमा अगाडि  झडपका क्रममा पनि मोर्चाका नेता तथा कार्यकर्ता घाइते भएका थिए।

यी हुन् घाइते

प्रहरीको लाठी चार्जबाट सद्भावनाका भीमराज यादव, लक्ष्मण यादव, सुरेन्द्र साह, दिनेश साह, मेलेठ गाविस–३ का निरज यादव, दिघवाका सम्पतकुमार मण्डल, मलेकपुर गाविस–५ का जयनारायण यादव, झुटकी–४ का बिरेन्द्र यादव, महदेवा–१ का शोभालाल यादव, दिघवा–८ का शंकरकुमार यादव, त्रिकौल गाविस–७ का मुकेशकुमार यादवसहित घाइते भएका छन्।

एमाले केन्द्रीय नेताहरु सशस्त्र प्रहरीको क्याम्पमा

घटनापछि तीन पूर्व प्रधानमन्त्री, पूर्व सभामुख र पूर्व गृहमन्त्रीहरुको टोली सशस्त्र प्रहरीको बरमझियास्थित क्याम्पमा बास बसेको छ। राजविराजको कार्यक्रमपछि आजै एमालेले कन्चनपुरमा जनसभा गरी त्यहीँ बास बस्ने पूर्व निर्धारित कार्यक्रम थियो। तर राजविराजको अप्रिय घटनापछि कन्चनपुरको सभा रद्द गरिएको छ।

त्यस्तै एमाले स्थायी कमिटीको आकस्मिक बैठकले मेची महाकाली अभियानमा षड्यन्त्र भएको भन्दै तीन दिनका लागि अभियान स्थगित गर्ने निर्णय गरेको छ।

Loading...
Related Posts
Don't miss it
Editors choice