• बुधबार ३१, असोज २०७५

विमलेन्द्रलाई केपी ओलीको चेतावनीः यस्ता गृहमन्त्री धेरै देखेका छौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री विमलेन्द्र निधीलाई आफूले सम्झाउन चाहेको बताएका छन् ।

एमालेले फागुन २१ देखि आयोजना गर्न लागेको मेची-काली अभियानबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘हामी गृहमन्त्रीलाई सम्झाउन चाहन्छौं, उहाँ कांग्रेसको मात्रै होइन, देशको गृहमन्त्री हो ।’

गृहमन्त्री निधिले केही दिन अगाडि एमालेलाई खेद्ने अभिव्यक्ति दिएको भन्दै यसबारे पार्टीले ध्यानाकर्षण गराइसकेको ओलीले बताए । उनले कार्यक्रममा भने, ‘उहाँभन्दा पहिले अरु पनि गृहमन्त्री थिए, हामीले यस्ता गृहमन्त्री हरु पनि देखेका छौं, उहाँलाई यो कुराको हेक्का रहोस् ।

एमालेले तराईमा चलाउने मेची-काली अभियान कसैको विरुद्ध नभएको र कसैलाई पनि त्यहाँ अवरोध नगरिने बताउँदै एमाले अध्यक्ष ओलीले भने, ‘त्यहाँ कुनै अप्रिय घटना भयो भने त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ ।’

‘संविधान संशोधन पारित हुँदैन’

एमाले अध्यक्ष ओलीले संसदमा संविधान संशोधन दर्ता गर्न र सैद्धान्तिक छलफल गर्न केही लचक बने पनि त्यसलाई पारित हुन भने नदिने अडान दोहोर्‍याए ।

संविधानमा अहिलेको स्वरुपमा २ नम्बर प्रदेश बनाउँदा गल्ती भएको ओलीले बताए । त्यसैगरी विगतमा कांग्रेसको कुरा मानेर पाँच नम्बर प्रदेशमा पनि गल्ती गरेको बताउँदै उनले भने, ‘अब हामीबाट यस्तो गल्ती हुँदैन ।’

कार्यक्रममा सहभागी एमाले महासचिव ईश्वर पोखरेलले मेची-काली अभियान कसैको विरुद्धमा नभएर मधेस र पहाडलाई जोड्नका लागि आयोजना गरिएको बताए ।

सो अभियानबारे बोल्दै पार्टी अध्यक्ष ओलीले पनि यो अभियान एमालेको अगुवाइमा भएता पनि राष्ट्रिय अभियान भएको बताए ।

पार्टी सचिव योगेश भट्टराईले फागुन २३ गते मेची पुलबाट सुरु हुने अभियान १५ दिनपछि महेन्द्रनगर पुगेर समापन हुने जानकारी दिए । कार्यक्रममा पार्टीका नेता कार्यकर्ताका साथै स्वतन्त्र रुपमा कलाकारहरु पनि सहभागी हुने भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Loading...
Related Posts
Don't miss it
Editors choice