• शनिबार ०२, भदौ २०७५

एक सातामा कानुन बने जेठमा चुनाव : प्रमुख आयुक्त

नयाँदिल्ली/प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एक सातामा निर्वाचनसम्बन्धी कानुन पारित भए आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गराउन सकिने बताएका छन् ।

नेपाल र भारतको निर्वाचन आयोगका बीचमा सन् २०११ मा भएको समझदारीपत्र नवीकरण तथा निर्वाचनसम्बन्धी कार्यक्रममा भाग लिन दिल्ली आएका प्रमुख आयुक्तले आगामी माघ ७ भित्र तिनै तहको निर्वाचन सम्पन्न गर्ने गरी आयोगले तयारी गरिरहेको जानकारी दिए ।

कान्तिपुरसँगको कुराकानीमा यादवले निर्वाचन कानुन र मिति तय भएपछि आयोगले तयारी रफ्तारमा अगाडि बढाउने बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले यादवसित केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने र निर्वाचनसम्बन्धी सम्पूर्ण कानुन पारित गर्ने आश्वासन दिएका थिए ।

यादवले निर्वाचनमा सकेसम्म बढी मत खसोस् भनेर आयोगले देशभर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । ‘संविधानसभा निर्वाचनमा झन्डै ८० प्रतिशत मत खसेको छ । हामीले त्यसलाई अझ बढाउने ढंगले काम गरिरहेका छांै ।’

यादव नेतृत्वको टोलीले निर्वाचनमा युवालाई कसरी आकर्षित गर्ने भन्ने गोष्ठीमा समेत सहभागिता जनाएको थियो । कार्यक्रममा यादवले नेपालको निर्वाचन आयोगले सम्भावित मतदातालाई लक्षित गरेर देशभर सञ्चालन गरेका कार्यक्रमहरूबारे जानकारी गराएका थिए ।

उनका अनुसार आयोगले विद्यालयमा सामाजिक शिक्षा पढाउने शिक्षकहरूलाई तालिम दिने र प्रमुख राजनीतिक दल निकटका युवा मोर्चाका नेताहरूलाई बोलाएर छलफल गरिरहेको छ, जुन कार्यक्रम दक्षिण एसियाकै उत्कृष्ट मानिन्छ ।

सन् २०११ मा गरिएको समझदारीपत्रअनुसार दुई निर्वाचन आयोगले आपसमा ज्ञान तथा अनुभव आदानप्रदान गर्ने छन् । निर्वाचनसम्बन्धी प्रविधिहरू आदानप्रदान, मतदाता शिक्षा कार्यक्रम सञ्चालन र सहकार्यका क्षेत्रहरू पहिचान गर्ने विषयसमेत समझदारीपत्रमा उल्लेख छ ।

यादवले भारतका प्रमुख निर्वाचन आयुक्तसँग दुईपक्षीय कुराकानी गरेका छन् । यादवका अनुसार भारतका प्रमुख निर्वाचन आयुक्तले निर्वाचन आयोगलाई आवश्यक पर्ने सहयोग गर्ने बताएका छन् । निर्वाचनमा नयाँ प्रविधिहरू प्रयोग गर्ने विषयमा समेत छलफल भएको यादवले जानकारी दिए ।

 

Loading...
Related Posts
Don't miss it
Editors choice